अनिल अंबानीविरुद्ध २२ सय करोड ठगी आरोपमा सीबीआईको नयाँ मुद्दा


काठमाडौँ । केन्द्रिय अनुसन्धान विभाग (सीबीआई) ले उद्योगपति अनिल अम्बानी र उनकी कम्पनी रिलायन्स कम्यूनिकेशन (आरकम) विरुद्ध २,२२० करोड भारतीय रुपैयाँभन्दा बढी बैंक ठगी गरेको आरोपमा नयाँ मुद्दा दर्ता गरेको छ।

सीबीआईका अनुसार सन् २०१३ देखि २०१७ बीच बैंक अफ बरोडाबाट लिएको ऋण तोकिएको प्रयोजनमा प्रयोग नगरी सम्बन्धित कम्पनीहरूमा फर्जी कारोबार देखाएर रकम डाइभर्ट गरिएको थियो। बैंकको उजुरीपछि सीबीआईले अंबानीको निवास र आरकमका कार्यालयमा छापा मारेर ऋण कारोबारसम्बन्धी महत्वपूर्ण कागजात बरामद गरेको जनाएको छ।

यसअघि अंबानी अर्काे मुद्दामा (ईडी) समक्ष उपस्थित भएका थिए, जहाँ उनीसँग करिब ९ घण्टा बयान लिइएको थियो।

सीबीआईका अनुसार आरकम, रिलायन्स इन्फ्राटेल र रिलायन्स टेलिकमले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट जम्मा ३१,५८० करोड रुपैयाँ जुटाएका थिए। जसमध्ये ठूलो हिस्सा सम्बन्धित कम्पनीहरूमा सारिएको, केही रकम अन्य बैंकको ऋण तिर्न प्रयोग गरिएको र केही रकम फिक्स्ड डिपोजिट तथा म्युचुअल फन्डमा लगानी गरी फेरि अन्यत्र स्थानान्तरण गरिएको आरोप छ। यसबाट बैंक अफ बडोदालाई ठूलो नोक्सानी पुगेको दाबी गरिएको छ।

उक्त ऋण खाता ५ जुन २०१७ मा एनपीए घोषणा गरिएको थियो। त्यसपछि बम्बे उच्च अदालतमा दायर मुद्दाका कारण ‘फ्रड’ घोषणा प्रक्रिया रोकिएको थियो। तर २३ फेब्रुअरी २०२६ मा अदालतले स्टे हटाएपछि बैंकले औपचारिक उजुरी दिएसँगै सीबीआईले मुद्दा अघि बढाएको हो।

सीबीआईले यो मुद्दा एसबीआई नेतृत्वको कन्सोर्टियमसँग सम्बन्धित अघिल्लो मुद्दाभन्दा अलग रहेको स्पष्ट पारेको छ। यस प्रकरणमा बैंक अफ बडोदा, तत्कालीन विजया बैंक र देना बैंकसँग लिएको ऋण समावेश रहेको जनाइएको छ।