काठमाडौँ । नेपाल भ्यालुयर्स एशोसिएशन (एनभिए) र डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) बिच सम्पत्ति मूल्यांकनसम्बन्धी सेवा तथा शुल्कलाई एकरूप बनाउने सम्झौता भएको छ ।
दुई संस्थाबिच भएको भएको फि तथा कन्सल्टेन्सी सर्भिस एग्रिमेन्ट अनुसार अब नेपालभरका डेभलपमेन्ट बैंकहरूमा प्रयोग हुने भ्यालुएशन रिपोर्ट एउटै ढाँचा र मापदण्डमा लागू गरिनेछ । यसले बैंकअनुसार फरक–फरक शर्त, प्रक्रिया र शुल्क हुने अवस्था अन्त्य गर्ने अपेक्षा गरिएको छ।
सम्झौतापत्रमा डिबानका अध्यक्ष सुयोग श्रेष्ठ र एनभिएका अध्यक्ष इन्जिनियर संजय महतोले हस्ताक्षर गरेका छन् । एनभिएका सचिव इन्जिनियर रबिन्द्र अधिकारीका अनुसार सम्झौतामा प्रत्येक ४ वर्षमा सेवा शुल्क पुनरावलोकन गर्ने व्यवस्था पनि स्पष्ट रूपमा उल्लेख गरिएको छ।
सम्झौतापछि एनभिएले यसलाई सम्पत्ति मूल्यांकनकर्ता इन्जिनियरहरूको पेशागत हक–हित स्थापनातर्फको “महत्वपूर्ण तथा ऐतिहासिक उपलब्धि” भएको जनाएको छ ।
यो सहमतिसँगै बैंकपिच्छे फरक मापदण्ड लागू हुने, रिपोर्टको ढाँचा नमिल्ने तथा कार्य प्रक्रियामा देखिने अन्य व्यावहारिक समस्याहरू समाधान हुने विश्वास लिइएको छ। अब मूल्यांकन प्रतिवेदनमा एकरूपता आउने र बैंकिङ प्रणाली थप व्यवस्थित हुने अपेक्षा गरिएको छ।
एनभिएले मूल्यांकनकर्ताहरूका गुनासा र पेशागत समस्यालाई लिएर विगत केही महिनादेखि विभिन्न बैंकहरूसँग संवाद र खबरदारी गर्दै आएको थियो। सोही क्रममा सांग्रिला डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक र मुक्तिनाथ विकास बैंक लगायतका संस्थाहरूलाई ध्यानाकर्षण गराइएको थियो।



प्रतिक्रिया दिनुहोस्