‘सुचना प्रविधि क्षेत्र प्राथमिकतामा छ’


काठमाडौँ । नेपालका राजनीतिक दलहरूले सुचना प्रविधि प्राथमिकतामा रहेको बताएका छन् । शुक्रबार आइसिटी फाउण्डेशनले गरेको दलहरूको डिजिटल प्रतिबद्धता कार्यान्वयन सम्बन्धी छलफल कार्यक्रममा दलका उम्मेद्वार तथा घोषणा पत्र लेखनमा रहेकाहरूले सुचना प्रविधिको क्षेत्र प्राथमिकतामा रहेको बताएका हुन् ।

नेपाली काँग्रेसकी केन्द्रिय सदस्य डा. अमिता प्रधानले स्थानीय तहदेखि विश्वतहसम्म पुग्ने गरी घोषणापत्र लेखेको बताएकी छिन् । उनले विद्यालयदेखि नै कोडिङ लगायतका सबै विषय समेटको उल्लेख गरिन् । उनले दक्ष जनशक्ति र विश्वविद्यालय बिच समन्वय नभएको कारण समस्या भएकोले यसलाई मिलाएर लैजाने नीति निर्माण गर्ने उल्लेख गरिन् ।

नेकपा एमालेका नेत्र तिमल्सिनाले सुचना प्रविधि क्षेत्र छिटो परिवर्तन हुने क्षेत्र भएकोले त्यस अनुसार सरकारले गर्नुपर्ने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वेदुराम भुषालले पार्टीहरूले सुचना प्रविधिको विषय घोषणापत्रमा समेटेको भएपनि व्यवहारमा नभएको उल्लेख गरे । परम्परागत ढङ्गबाट शासन गरिरहेको भएर पनि अगाडी बढ्न नसकेको उनको भनाइ छ । कर्मचारीतन्त्र पनि परम्परागत ढङ्गले चलाइरहेको कारण पनि समस्या भएको उनले बताए ।

राप्रपाका सामानुपातिक उम्मेद्वार गजेन्द्र बुढाथोकीले नेपालमा सुचना प्रविधि क्षेत्रको बुझाइ नै कमजोर रहेको बताए । पछिल्लो पुस्ता सुचना प्रविधि बढेर हरेक वर्ष विश्वविद्यालयबाट ग्य्राजुयसन हुने तर नेपालमा कसरी राख्न सकिन्छ भन्ने राज्यको नीति नभएको बताए । नीति निर्माणमा राज्यको सुस्तता भएको उनको भनाइ छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजन कोइरालाले अब हरेक कुराहरू घोषणापत्रमा मात्र सिमित नभई कार्यान्वयनमा जानुपर्ने समय आएको बताए ।

प्रगतिशील लोकतान्त्रिक पार्टीका केशवराज अर्यालले सुचना प्रविधिबाट राम्रो कमाइ भइरहेको भनेर पछिल्लो पुस्तालाई थाहा भएपनि कानुन निर्माण गर्नेलाई थाहा नभएको बताए । उनले नीति निर्माण गर्ने क्षेत्रमा दक्ष जनशक्ति नपुगेका कारण नीति नियम बन्न नसकेको उल्लेख गरे ।

गतिशिल लोकतान्त्रिक पार्टीका विजय वावु शिवाकोटीले डिजिटल डिभाइड कम गर्न काम गर्ने बताए ।