अमेरिका र इजरायलको पक्षमा उभिनु नेपालको दीर्घकालीन हित हुन्छः अरुणकुमार सुवेदी


काठमाडाैँ । भूराजनीतिक विश्लेषक अरुणकुमार सुवेदीले हाल मध्यपूर्वमा भइरहेको तनावमा नेपाल अमेरिका र इजरायलको पक्षमा उभिनुपर्ने बताएका छन् । 

न्युज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा उनले नेपालको दीर्घकालिन हितको लागि पनि अमेरिका, भारत र ईजरायलको विपक्षमा जान नहुने बताए ।

उनले नेपालले आफ्नो राष्ट्रिय स्वार्थलाई केन्द्रमा राख्दै अमेरिका, इजरायल र भारतसँग समन्वय गरेर स्पष्ट नीति अवलम्वन गर्नुपर्नेमा जोड दिए ।

नेपाल सरकारले ढिलाइ नगरी आफ्नो औपचारिक धारणा स्पष्ट गर्नुपर्ने र खाडी क्षेत्रमा शान्ति स्थापना हुने पक्षमा कुटनीतिक रूपमा उभिनुपर्ने उनकाे भनाइ छ ।

नेपालको ऊर्जा सुरक्षा, व्यापारिक सुरक्षा र वैदेशिक रोजगारीको स्थायित्व प्रत्यक्ष रूपमा खाडी क्षेत्रसँग जोडिएको हुँदा त्यहाँको अस्थिरताले नेपाललाई गम्भीर असर पार्नसक्ने उनको भनाइ छ ।

उनले इरानले प्रहार गरेको मिसाइल आक्रमण नेपालको हितविपरित भएको उल्लेख गर्दै त्यसको खुलेर विरोध गर्नुपर्ने बताए । खाडी क्षेत्रमा कार्यरत लाखौं नेपाली कामदारहरूको सुरक्षा जोखिममा पर्नसक्ने भएकाले त्यस क्षेत्रमा तत्काल शान्ति स्थापना हुन आवश्यक रहेको उनको भनाइ छ ।

इरानको वर्तमान शासन पतन भएर गल्फ क्षेत्रमा तत्काल शान्ति स्थापना हुनु नै नेपालको हितमा हुने उनले बताए । उनले हाल आपतकालीन अवस्थामा नेपाली नागरिकको उद्धार चुनौतीपूर्ण हुने भएकोले भारत वा अमेरिकाको सहयोग अपरिहार्य रहेको बताएका छन् ।

उनले नेपालमा विगतमा इरान वा उत्तर कोरियाजस्ता राष्ट्रहरूको पक्षधरतालाई राष्ट्रवादको आवरण दिइने प्रवृत्ति कमजोर हुँदै गएको दाबी गरे ।  आगामी निर्वाचनमा ती धारहरूको प्रभाव घट्ने संकेत देखिएको उनको भनाइ छ ।

सुवेदीले नेपालमा कम्युनिस्ट शक्तिहरूले दशकौँदेखि अमेरिका र भारतविरुद्ध घृणा–राजनीति गर्दै आएको आरोप लगाए । तर विश्वव्यापी सन्दर्भमा माक्र्सवादी र इस्लामिक अतिवाद नियन्त्रणमा अमेरिकाको महत्वपूर्ण भुमिका रहेको उनको तर्क छ ।

दक्षिण अमेरिका र मध्य अमेरिकाका द्वन्द्वहरू नियन्त्रण गर्न अमेरिकाले खेलेको भुमिका महत्वपूर्ण रहेको उनले बताए । नेपालका केही तराई र पहाडी क्षेत्रहरूमा इस्लामिक अतिवादका गतिविधि बढिरहेको दाबी गर्दै सुवेदीले इरानको कठोर शासन कमजोर हुँदा त्यसको मनोवैज्ञानिक प्रभाव नेपाल र भारतमा समेत सकारात्मक पर्ने विश्वास व्यक्त गरे ।

सुवेदीले इरानमा शासन परिवर्तन भएर चाँडो शान्ति स्थापना भए नेपाललगायत दक्षिण एशियाली देशलाई सहज हुने बताए । उनले खाडी क्षेत्रमा भएको द्धन्दले तेल निर्यातमा अवरोध हुने भएकाले विश्व बजारमा ठूलो समस्या आउन सक्ने चेतावनी दिएका छन् ।

भारतले सम्भावित संकटलाई ध्यानमा राख्दै वैकल्पिक ऊर्जा आपूर्ति सुनिश्चित गर्ने कुटनीतिक प्रयास अघि बढाएको उल्लेख गर्दै उनले नेपाल भारतको ऊर्जा प्रणालीमा निर्भर भएकाले भारतमा ठूलो ऊर्जा संकट नआए नेपालमा प्रत्यक्ष असर सिमित हुने बताए।

सुवेदीले इरानलाई रूस र चीनले सैन्य सहयोग गर्नसक्ने अवस्था नरहेकोले मध्यपूर्वमा थप तनाव नहुने बताए । रुस युक्रेन युद्धमा व्यस्त रहेकाले इरानलाई ठूलो सैन्य सहयोग गर्न नसक्ने र चीनले पनि प्रत्यक्ष सैन्य हस्तक्षेपभन्दा रणनीतिक सन्तुलनमा ध्यान दिने सम्भावना बढी रहेको उनको विश्लेषण छ ।

उनकाअनुसार युद्ध दीर्घकालीन बने दक्षिण एशियामा ऊर्जा मूल्य, आपूर्ति श्रृंखला र श्रम बजारमा असर पर्नसक्छ । खाडीबाट ठूलो संख्यामा नेपाली श्रमिक फर्किनुपरे सामाजिक तथा राजनीतिक दबाब बढ्न सक्ने उनको भनाइ छ ।