होलीले सद्भाव र एकताको सन्देश फैलाओस् : राष्ट्रपति पौडेल


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल ले फागुपूर्णिमा (होली) का अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन्।

शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइलाई पर्वको मंगलमय शुभेच्छा व्यक्त गरेका हुन्।

सन्देशमा उनले होलीले समाजमा देखिएका विकृति, विसङ्गति र कुरीतिहरू अन्त्य गर्न प्रेरणा दिँदै मौलिक संस्कृति संरक्षण र प्रवर्द्धनमा टेवा पुर्‍याओस् भन्ने अपेक्षा व्यक्त गरेका छन्।

असत्यमाथि सत्य, अन्यायमाथि न्याय र अधर्ममाथि धर्मको विजयको प्रतीकका रूपमा मनाइने यो पर्वले आपसी वैरभाव त्यागी प्रेम, आत्मीयता र सद्भाव सुदृढ बनाउन सघाउने विश्वास राष्ट्रपतिले व्यक्त गरेका छन्।

रङहरूको पर्व होली वसन्त ऋतुको आगमनसँगै देशभर हर्षोल्लासका साथ मनाइन्छ। चिर ठड्याएर सुरु हुने पर्व पूर्णिमाको राति चिर दाहसँगै समापन हुन्छ।

विविध रङझैँ नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक विविधताले भरिएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले यही विविधताबीचको एकता नै नेपाली पहिचानको सुन्दर आधार भएको बताएका छन्।