काठमाडाैँ । ‘आफ्नो गाउँ, आफ्नै ठाउँ, आफैँले चुनेको प्रतिनिधि’– यही भावना बोकेर अहिले हजारौँको सङ्ख्यामा मानिसहरू काठमाडौं उपत्यका छाडेर आफ्नो थाँतथलोतिर लागिरहेका छन् ।
प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिएसँगै काठमाडौंका नाकाहरूमा गाउँ फर्किने मतदाताहरूको उत्साह देखिएको छ । शहरका व्यस्त गल्लीहरू सुनसान बन्दै जाँदा गाउँघरमा भने निर्वाचनको रौनकले छुट्टै उल्लास थपेको छ । निर्वाचन केवल प्रक्रिया मात्र होइन, यो त जनताको शक्तिको प्रदर्शन पनि हो ।
कोटेश्वर, कलङ्की र जडिबुटी जस्ता प्रमुख नाकाहरूमा भेटिएका यात्रुहरूको आँखामा एउटा फरक चमक देखिन्छ । आफ्नो भविष्य आफैँले कोर्ने अवसरलाई सदुपयोग गर्न उनीहरू कतिपय कष्टकर यात्रालाई पनि सहजै स्वीकारिरहेका छन् । तस्बिरहरूमा देखिएझैँ सार्वजनिक सवारी साधनका छतहरू झोला, पोका–पुन्तरा र गुन्टाले भरिएका छन् ।
मानिसहरू टाटा सुमो, ठूला बस र साना गाडीहरूमा खाँदिएरै भएपनि आफ्नो गन्तव्यतर्फ लाग्न आतुर देखिन्छन् । कसैले बच्चालाई काखमा च्यापेका छन् त कोही साथीभाइको समूहमा रमाइलो गर्दै यात्राको तयारीमा छन् । पसिनाले निथु्रक्क भिजेका अनुहारहरूमा पनि घर पुग्ने हतारो र लोकतन्त्रको महाकुम्भमा सहभागी हुन पाउँदाको खुशी झल्किन्छ ।
‘रोयल नेपाल’ लेखिएका सुमोदेखि बसहरु यात्रुले भरिभराउ छन् । सडक किनारमा गाडी पर्खिरहेका मानिसहरूको धैर्यताले उनीहरूको राजनीतिक सचेतना र जिम्मेवारीवोधलाई प्रस्ट पार्छ । निर्वाचन एउटा यस्तो माध्यम बनेको छ, जसले शहरको व्यस्ततामा हराएका मानिसहरूलाई पुनः आफ्नो माटो र जरासँग जोडिदिएको छ । काठमाडौंलाई कर्मथलो बनाएर बसेका विद्यार्थी, मजदुर र कर्मचारीहरू आज एउटै उद्देश्यका लागि गाउँ फर्किएका छन्– त्यो हो, ‘सही नेतृत्वको छनौट’ ।
यो आवतजावतले शहर र गाउँबिचको भौगोलिक दूरीलाई मात्र छोट्याएको छैन, बरु भावनाको पुल पनि निर्माण गरेको छ । शहरमा सिकेको ज्ञान र गाउँको आवश्यकतालाई जोड्ने यो एक महत्वपूर्ण अवसर हो । गाउँ पुगेर हालिने प्रत्येक मतले आगामी पाँच वर्षको लागि विकास र समृद्धिको जग बसाल्ने विश्वास गरिएको छ । निर्वाचनले ल्याएको यो लहरले नेपाली जनतामा लोकतन्त्रप्रतिको अगाध आस्था रहेको प्रमाणित गर्छ ।
बाटोका खाल्डाखुल्डी र लामो यात्राको थकानलाई बिर्सेर मतदाताहरू जसरी गाउँ फर्किरहेका छन् । यसले राष्ट्र निर्माणमा नागरिकको सहभागिता कति बलियो छ भन्ने सन्देश दिन्छ । यि तस्बिरहरू केवल यात्रुहरूका मात्र होइनन्, यी त समृद्ध नेपालको सपना बोकेर हिँडेका सचेत नेपालीका हुन् । –न्युज एजेन्सी नेपाल























प्रतिक्रिया दिनुहोस्