आज राति १२ बजेदेखि अतिआवश्यक सेवाबाहेक सबै सवारी सञ्चालनमा रोक


काठमाडाैँ । प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आज (बुधबार) राति १२ बजेदेखि सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। निर्वाचन सुरक्षा व्यवस्थालाई कडाइ गर्दै मतदान सम्पन्न नहुन्जेलसम्मका लागि अतिआवश्यक सेवाबाहेकका सबै सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको हो।

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार आयोगको सिफारिसबमोजिम सरकारमार्फत बुधबार राति १२ बजेदेखि बिहीबार साँझ ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो। मतदान कार्य सम्पन्न नहुन्जेलसम्म अत्यावश्यक सेवाबाहेक अन्य कुनै पनि सवारीसाधन सञ्चालन गर्न नपाइने उनले स्पष्ट पारे।

आयोगले तीन प्रकारका सवारीसाधनलाई भने सञ्चालन अनुमति दिएको जनाएको छ। जसअनुसार एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चारका सवारीसाधन, खानेपानी तथा विद्युत् मर्मतसम्बन्धी सवारीसाधनजस्ता अतिआवश्यक सेवाका सवारीसाधन सञ्चालन गर्न पाइनेछ। त्यसैगरी कूटनीतिक नियोगका निलो प्लेट भएका सवारीसाधन तथा निर्वाचन आयोग र सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत पास प्राप्त सवारीसाधनलाई पनि सञ्चालनको अनुमति दिइनेछ।

सूचना अधिकारी घिमिरेले सम्पूर्ण मतदाता तथा यात्रुलाई सवारीसाधन बन्द हुनुअघि नै आफ्नो गन्तव्यमा पुग्न आग्रह गरेका छन्। उनले राति १२ बजेदेखि मतदान सम्पन्न नहुन्जेलसम्म सवारी आवागमन निषेध हुने भएकाले आवश्यक तयारी गर्न अनुरोध गरे ।

आयोगले निर्वाचन अवधिमा सवारी प्रयोगका क्रममा कुनै अवरोध वा समस्या उत्पन्न भएमा नजिकको सुरक्षा निकायसँग समन्वय गर्नसमेत अनुरोध गरेको छ। आवश्यक परेमा सुरक्षा निकायले निर्वाचन आयोगसँग समन्वय गरी सहजीकरण गर्ने व्यवस्था मिलाइने आयोगले जनाएको छ।