काठमाडौँ । काठमाडौँ उपत्यका छाडेर गृहजिल्ला पुगेर मतदान गर्न चाहने मतदाताले सार्वजनिक यातायात नपाएको गुनासो गरेका छन्। बिहानीदेखि सवारी साधन कुर्दा पनि टिकट नपाएको र ‘रिजर्भ’ लेखिएका गाडीले सर्वसाधारण नबोक्दा उनीहरू समस्यामा परेको बताइएको छ।
ओखलढुंगाका कुलबहादुर थापाले विद्यालयमा कार्यरत भएकाले ढिला बिदा पाएको र व्यक्तिगत सवारी साधन नभएकाले सार्वजनिक यातायातमा निर्भर हुनुपरेको जानकारी दिए । उनका अनुसार बुधवार बिहानैदेखि ओखलढुंगा जाने गाडी पाउन सक्नु भएन। अधिकांश गाडीमा ‘रिजर्भ’ लेखिएको र ती गाडीले सर्वसाधारणलाई बोक्न अस्वीकार गरेको उनले गुनासो गरे। बस काउन्टरमा गएर टिकट माग्दा “दल र उनीहरूको नेतासँग सम्पर्क गर्नुहोस्, टिकट पाइँदैन” भनेर पठाइएको र भोट हाल्न जान नसकिने अवस्था आएको उनले बताए ।
थापाले भने, “म एक विद्यालयमा जागिर गर्छु। बिदा पाउन ढिला भयो। मेरो व्यक्तिगत सवारी छैन। आज २० गतेसम्म ओखलढुंगाका लागि सार्वजनिक गाडी उपलब्ध छ भने पनि भोट हाल्न घर जान गाडी पाइन। बिहान ४ बजेदेखि गाडीको पर्खाइमा छु, अझैसम्म गाडी पाइन। रिजर्भ बाहेक अरू गाडी छैन। बस काउन्टरले भने—‘दल र नेतासँग सम्पर्क गर्नुहोस्।’ अब भोट हाल्न जान नपाउने स्थिति छ।”
कास्कीका दिलिप महतले पनि राजनीतिक दलहरूले आफ्ना समर्थकलाई प्राथमिकता दिएर गाडी रिजर्भ गर्दा सर्वसाधारण समस्यामा परेको बताए। उनका अनुसार दलहरूले आफ्ना पार्टीका मतदातालाई मात्र गाडी उपलब्ध गराउँदा धेरैले मतदान गर्न नपाउने अवस्था सिर्जना भएको छ।
महतले भने, “उपत्यका छाड्न चाहने धेरै मतदाताले दुःख भोगिरहेका छन्। दलहरूले भोटलिस्टमा नाम भएका आफ्ना पार्टीका मान्छे मात्र गाडीमा पठाइरहेका छन्। यसकारण कतिपय मतदाता भोट हाल्न जान पाएका छैनन्।”
रामेछापका कुमार बस्नेतले भने टिकट नकाटेर पनि गाडी पाएका र भोट हाल्न घर जाँदै छन्। उनले राजनैतिक दलहरूले रिजर्भ गाडीमा जानुपर्ने दबाब दिएको भए पनि अस्वीकार गरेको बताए।
सरोकारवालाहरूले निर्वाचनको मुखमा सार्वजनिक यातायात व्यवस्थापन र दलहरूको संलग्नताबारे उठेका गुनासोप्रति ध्यान पुर्याउनु आवश्यक रहेको बताएका छन्। सर्वसाधारण मतदाताले सहज रूपमा मतदान केन्द्रसम्म पुग्न पाउने अधिकार सुनिश्चित गर्न यातायात व्यवस्थापन पारदर्शी हुनुपर्ने देखिन्छ।


प्रतिक्रिया दिनुहोस्