मतदान केन्द्रमा गएर मताधिकार प्रयोग गर्न निर्वाचन आयुक्त तुलाधरको अपिल


काठमाडाैँ । निर्वाचन आयोगकी आयुक्त डा. जानकीकुमारी तुलाधरले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा आम मतदातालाई आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरेकी छन् ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा डा. तुलाधरले सबै मतदातालाई समयमै आफ्ना मतदान केन्द्रमा पुगेर अमूल्य मताधिकारको प्रयोग गर्न अनुरोध गरिन् । उनले असल प्रतिनिधि चयनका लागि मतदान अनिवार्य रहेको उल्लेख गर्दै निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, भयरहित, विश्वासिलो र मितव्ययी बनाउन सबै पक्षको दायित्व हुने बताइन् ।

डा. तुलाधरले नागरिकसँगै राजनीतिक दल, सुरक्षा निकाय, कर्मचारी र अन्य सरोकारवालालाई समेत निर्वाचनमा सहयोग गर्न आग्रह गरिन् । उनले भनिन्, “फागुन २१ गते समयमा आफ्ना मतदान केन्द्रमा गएर मताधिकार प्रयोग गर्नुहोस्। एउटा भोट अमूल्य हुन्छ र यसले असल व्यक्तिको चयनमा मद्दत गर्छ। निर्वाचन सफल बनाउन सबैले आफ्नो योगदान दिनु अत्यावश्यक छ।”

निर्वाचन आयोगका अनुसार, फागुन २१ गते हुने निर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ।