काठमाडाैँ । सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण तथा द्वेष फैलाउने सामग्री प्रकाशन गरेको आरोपमा चितवनबाट एक जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भारतका प्रधानमन्त्रीको ‘एआई जेनरेटेड डिप फेक’ भिडियो तयार गरी फेसबुक लगायत सामाजिक सञ्जालमा पोष्ट गर्ने व्यक्तिलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार भरतपुर महानगरपालिका–१६ निवासी नन्द प्रसाद भट्टलाई बुधबार भरतपुर–१० बाट पक्राउ गरिएको हो। उक्त सामग्रीले सामाजिक सद्भावमा असर पार्ने तथा निर्वाचन गतिविधिलाई प्रत्यक्ष प्रभाव पार्ने उद्देश्य राखेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीको दाबी छ।
यस प्रकरणमा नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो को प्राविधिक सहयोगमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। पक्राउ परेका भट्टमाथि विद्युतिय कारोबार ऐन, २०६३ अन्तर्गत कसूरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले सामाजिक सञ्जालमा भ्रामक तथा द्वेषपूर्ण सामग्री नफैलाउन सबैलाई सचेत रहन आग्रह गरेका छन्।


प्रतिक्रिया दिनुहोस्