कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीद्वारा मतदान, फागुन २५ भित्र परिणाम सार्वजनिक गर्ने लक्ष्य


काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मतदान गरेका छन्।

बिहीबार बिहान उनले काठमाडौँ महानगरपालिका–२९ स्थित वडा कार्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन्। मतदानपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उहाँले देशभर स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा मतदान भइरहेको बताए ।

उनले सबै मतदातालाई लोकतान्त्रिक अधिकारको प्रयोग गर्दै मतदानमा सक्रिय रूपमा सहभागी हुन आग्रह गरे। साथै मतगणनाको प्रक्रिया खसेको मतसङ्ख्याका आधारमा गणना टोली गठन गरी तीव्र रूपमा अगाडि बढाइने जानकारी दिए ।

भण्डारीका अनुसार आयोगले फागुन २५ भित्र प्रत्यक्ष र समानुपातिक दुवै तर्फको मत परिणाम सार्वजनिक गर्ने लक्ष्य लिएको छ।

आज प्रतिनिधिसभा सदस्यका लागि पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फ १६५ निर्वाचन क्षेत्र तथा समानुपातिकतर्फ ११० सिटका लागि मतदान भइरहेको छ। देशभरका मतदान केन्द्रमा मतदान कार्य जारी रहेको छ।