मतदानपछि झापा उड्न खोजेका बालेन सवार हेलिकोप्टर काठमाडौं फर्कियो


काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मतदानपछि आफ्नो निर्वाचन क्षेत्र झापा जान हिँडेका बालेन्द्र साह चढेको हेलिकोप्टर उडेको केही मिनेटमै पुनः काठमाडौं फर्किएको छ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट झापाका लागि उडेको हेलिकोप्टर करिब पाँच मिनेटमै फर्किएर काठमाडौंमै अवतरण गरेको हो। हेलिकोप्टर बिहान करिब १०ः१० बजे काठमाडौं ल्यान्ड भएको बताइएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार हेलिकोप्टर फर्किनु प्राविधिक समस्या वा प्राधिकरणको निर्देशनका कारण भने होइन। “उहाँहरू आफैं फर्किनुभएको हो, जान चाहनुहुन्छ भने अहिले पनि कुनै रोकतोक छैन,” उनले भने।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी का वरिष्ठ नेता साहले काठमाडौं–२ अन्तर्गत सिनामंगलस्थित अन्नपूर्ण इङ्ग्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट मतदान गरेका थिए। त्यसपछि उनी आफू उम्मेदवार रहेको झापा–५ तर्फ प्रस्थान गरेका थिए।

आजै निर्वाचनको दिन अन्य शीर्ष नेताहरू भने हेलिकोप्टरमार्फत आफ्ना क्षेत्रमा पुगेका छन्। गगन थापा र पुष्पकमल दाहाल पनि हेलिकोप्टरबाटै आफ्ना निर्वाचन क्षेत्रमा पुगेका छन्।