महिला मतदातालाई समयमै मतदान गर्न निर्वाचन आयुक्त तुलाधरको अपिल


काठमाडौँ । निर्वाचन आयुक्त डा.जानकीकुमारी तुलाधरले आम महिला मतदातालाई घरायसी काम सकेर समयमै मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गर्न विशेष अपिल गरेकी छन् ।

देशमा महिलाको जनसङ्ख्या पुरुषको तुलनामा बढी भए पनि विगतका निर्वाचनहरूमा महिला मतदाताको मतदान प्रतिशत अपेक्षाकृत कम देखिने गरेको तथ्यलाई ध्यानमा राख्दै उनले यस्तो आग्रह गरेकी हुन्। यसपटक महिलाहरूको मतदान सहभागिता बढाउन सबै पक्षले सहयोग गर्नुपर्नेमा उनले जोड दिइन्।

मतदान गर्न जाँदा मतदाताले परिचय खुल्ने आधिकारिक कागजात अनिवार्य रूपमा साथमा लैजानुपर्ने कुरा पनि उनले स्मरण गराइन्। आयोगले मतदानका लागि छ प्रकारका परिचयपत्रलाई मान्यता दिएको जानकारी दिँदै उनले नागरिकताको प्रमाणपत्र, जग्गाधनी लालपूर्जा, राहदानी (पासपोर्ट), राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) तथा निर्वाचन आयोगले जारी गरेको मतदाता परिचयपत्रमध्ये कुनै एक कागजात लिएर गएमा सहज रूपमा मतदान गर्न सकिने बताइन्।

आयुक्त तुलाधरले महिलाहरूलाई आफ्नो अमूल्य मतको सदुपयोग गर्दै लोकतान्त्रिक प्रक्रियामा सक्रिय रूपमा सहभागी हुन आग्रह गरिन्। साथै उनले यसपालि महिलाको मतदान प्रतिशत बढाउन सबै महिला मतदाताले उत्साहपूर्वक मतदानमा सहभागी हुनुपर्नेमा पनि जोड दिइन्।