शान्तिपूर्ण र उत्साहपूर्ण वातावरणमा देशभर मतदान जारी छ : निर्वाचन आयोग


काठमाडौँ । निर्वाचन आयोग ले देशभरका सम्पूर्ण मतदान केन्द्रहरूमा शान्तिपूर्ण, स्वतन्त्र र उल्लासमय वातावरणमा मतदान कार्य जारी रहेको जनाएको छ।

आयोगका अनुसार अहिलेसम्म देशका कुनै पनि मतदान केन्द्रमा मतदान कार्य अवरुद्ध नभई सबै स्थानमा सुचारु रूपमा मतदान भइरहेको छ। मतदानको पछिल्लो अवस्थाबारे जानकारी दिँदै निर्वाचन आयुक्त जानकीकुमारी तुलाधर ले मतदाताहरू उत्साह र उल्लासका साथ मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरिरहेको बताइन्।

उहाँले सुरक्षा व्यवस्था र मतदान केन्द्रको समग्र व्यवस्थापन यसपटक सुदृढ रूपमा मिलाइएको स्पष्ट पारिन्। मतदान केन्द्रहरूको वातावरण शान्त, सुरक्षित र भयरहित रहेको उल्लेख गर्दै आयुक्त तुलाधरले निर्वाचन व्यवस्थापनका अधिकांश कार्यहरू प्रभावकारी रूपमा सञ्चालन भइरहेको दाबी गरिन्।

“आम मतदाताहरू एकदमै स्वतन्त्र किसिमले आफ्नो मतदान गरिरहनुभएको छ। अहिलेसम्म कुनै पनि मतदान केन्द्रमा मतदान रोकिएको अवस्था पाइएको छैन,” उनले भनिन् ।

आयुक्त तुलाधरका अनुसार यसपटक आयोगले मतदान केन्द्रहरूलाई विशेष रूपमा पहुँचयोग्य बनाउने व्यवस्था गरेको छ। सबै वर्ग, समुदाय तथा क्षमताका नागरिकले सहज रूपमा मतदान गर्न सकून् भन्ने उद्देश्यले मतदान स्थलको निर्माण र व्यवस्थापनमा विशेष ध्यान दिइएको उनको भनाइ छ।

मतदानको समय साँझ ५ बजेसम्म तोकिएको उल्लेख गर्दै आयोगले समयमै आफ्नो मतदान केन्द्रमा पुगेर अमूल्य मताधिकार प्रयोग गर्न सम्पूर्ण मतदातालाई आग्रह गरेको छ।