काठमाडौँ । गृह मन्त्रालयले देशभर शान्तिपूर्ण, सुरक्षित र उत्साहपूर्ण रूपमा मतदान सम्पन्न भएको जनाएको छ। मन्त्रालयका अनुसार, विगतका निर्वाचन अनुभव र वर्तमान परिवेशलाई ध्यानमा राखेर तयार पारिएको एकीकृत सुरक्षा योजना पूर्ण रूपमा सफल भएको दाबी गरिएको छ।
गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले निर्वाचन पूर्वको अवस्था शान्तिपूर्ण रूपमा व्यवस्थित भएको र मतदानको दिनसम्म सुरक्षा व्यवस्था अत्यन्तै चुस्त रहेको बताएका छन्। उनका अनुसार केही स्थानमा व्यवस्थापकीय वा अन्य कारणले सामान्य अवरोध देखिए पनि ती तुरुन्तै समाधान गरिएको छ।
विशेषगरी, दोलखाको एउटा मतदान केन्द्रमा लामो समयदेखि अवरुद्ध रहेको मतदान कार्य जिल्ला सुरक्षा समिति, राजनीतिक दल र सुरक्षाकर्मीको समन्वयमा पुनः सुचारु गरिएको काफ्लेले जानकारी दिएका छन्।
उनले भने, “हामीले बनाएको एकीकृत सुरक्षा योजनाअनुसार सुरक्षाकर्मी परिचालित छन्। अहिलेसम्मको अवस्था हेर्दा मतदान अत्यन्तै शान्तिपूर्ण भइरहेको छ र मतदाताले उत्साहपूर्वक मतदान गरिरहेका छन्।”
निर्वाचनमा उम्मेदवार, मतदाता, सञ्चारकर्मी र पर्यवेक्षक सहित सबैको सुरक्षाका लागि ‘माइक्रो तह’सम्म सुरक्षाकर्मी तैनाथ गरिएको उनले बताए।


प्रतिक्रिया दिनुहोस्