काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकार गठनको शुरुवाती चरणमा आशंका र विरोध गर्नेहरू अहिले सरकारको काम देखेर विश्वासमा आएको बताएका छन् ।
उनका अनुसार सार्वजनिक जिम्मेवारीमा रहँदा शंका र विश्वास दुवै स्वाभाविक हुने भए पनि निरन्तर संवादमार्फत शंका गर्नेहरूसँग विश्वास कायम राख्न सरकार सफल भएको दाबी गरेका हुन्।
प्रदेशस्तरीय सुरक्षा गोष्ठीहरूमा सबै दलका मुख्यमन्त्री र आन्तरिक मामिला मन्त्रीहरूले देखाएको सद्भाव र सहयोगले सरकारको मनोबल उच्च बनाएको उनले उल्लेख गरे।
देशले अघिल्ला समयमा ठूलो हिंसा र राष्ट्र जोखिममा पर्ने अवस्था भोगिसकेको सन्दर्भमा, गृहमन्त्री अर्यालले सबैको विधिको शासन र कानूनी राज्यको पुनर्बहालीका लागि निर्वाचन अपरिहार्य रहेको बताए।
उनले भने, “आशंका र विश्वास सँगसँगै गर्नुभएको थियो सुरूदेखि नै। जसले सुरुमा सरकारको विरोध गर्नुभएको थियो, उनीहरू पनि सुरक्षाको प्रत्याभुति र निष्पक्ष चुनावको सुनिश्चितता भएपछि चुनावमा सहभागी भए। हामीले सुरक्षाको प्रत्याभुति दियौं, निष्पक्षताको प्रत्याभुति दियौं, त्यसपछि प्रारम्भमा अलि अविश्वास गर्नेहरू पनि चुनाव सफल बनाउन बाध्य भए। प्रदेशस्तरीय गोष्ठीमा सबै दलका मुख्यमन्त्री र आन्तरिक मामिला मन्त्रीहरूको सहयोग, सद्भाव र क्रियाशीलताले हाम्रो कार्ययोजनालाई सफल बनाउन बलियो समर्थन पुगेको छ।”
निर्वाचन सम्पन्न भइसकेपछि संविधानको पूर्ण पुनर्बहाली, संवैधानिक अङ्गहरूको सुचारु सञ्चालन, सुशासन, सेवा प्रवाह र समृद्धिको बाटो खुल्ने विश्वास गृहमन्त्री अर्यालले व्यक्त गरेका छन्।


प्रतिक्रिया दिनुहोस्