काठमाडाैँ । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले मुलुकभर शान्तिपूर्ण र उत्साहजनक ढंगले मतदान कार्य सम्पन्न भएको बताएका छन् ।
बिहीवार सञ्चारकर्मीसँग कुरा गर्दै उनले सुरक्षा निकायहरूबिचकाे समन्वय र एकीकृत सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयनका कारण देशभर निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताए ।
आईजीपी कार्कीका अनुसार छिटपुट विवाद बाहेक मुलुकभर सामान्य रूपमा निर्वाचन सम्पन्न भएको छ। दोलखाका केही निर्वाचन क्षेत्रमा देखिएका विवाद समाधान गर्न राजनीतिक दल र निर्वाचन अधिकृतबीच छलफल जारी रहेको उनले जानकारी दिए।
उनले भने, “मतदानको दिनसम्म पुग्न हामीले देशभर पूर्वतयारीसहित एकीकृत सुरक्षा योजना तयार गरी कार्यान्वयन गरेका थियौं। आजका दिन आइपुग्न पूर्वमा अपनाइएका रणनीतिहरूले काम गरेका छन्। दोलखाबाहेक सबै मतदानस्थलमा सामान्य विवाद भए पनि दलका प्रतिनिधि र निर्वाचन अधिकृतले समस्या हल गर्दै अघि बढेका छन्। समग्रमा निर्वाचन शान्तिपूर्ण र उत्साहजनक ढंगले सम्पन्न भएको छ।”
आईजीपी कार्कीले जेन–जी आन्दोलनपछि प्रहरीको मनोबल केही खस्किएको भए पनि सिमित स्रोत–साधनका बाबजुद पनि सुरक्षा निकायले समर्पित भावनाका साथ काम गरेको उल्लेख गरे । उनका अनुसार सुरक्षा संयन्त्रले भवन, स्रोत–साधन वा कानूनी व्यवस्थाभन्दा कर्तव्यबोध र समर्पणलाई केन्द्रमा राखेर काम गर्दै आएको छ।
उनले थपे, “सुरक्षाकर्मीहरूले व्यक्तिगत सुविधा र आराम त्यागेर देशको सुरक्षामा काम गरेका छन्। कठिन परिस्थितिमा भत्किएका संरचना र जलेका सवारीसाधनबीच पनि उनीहरूले स्रोत–साधन अभावमा जिम्मेवारी पूरा गरेका छन्। नेपालको सुरक्षा निकायले भावनामा, कर्तव्यबोधमा र साधन–साधनामा काम गर्दै आएको छ। नागरिकस्तर र कर्पोरेट क्षेत्रको सहयोगले पनि सुरक्षाकर्मीलाई उत्प्रेरणा दिएको छ।”
आईजीपी कार्कीले मतपेटिका सङ्कलनदेखि मतगणना सम्पन्न नभएसम्म सबै सुरक्षा निकायलाई जिम्मेवारी तय गरिएको भन्दै योजनाअनुसार काम अघि बढ्ने जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्