रुकुमपूर्वका तीन मतदान केन्द्रका मतपेटिका हेलिकप्टरमार्फत सदरमुकाम ल्याइयो


काठमाडौँ । रुकुमपूर्वका दुर्गम तीन वटा मतदान केन्द्रका मतपेटिका नेपाली सेनाको हेलिकप्टरमार्फत जिल्ला सदरमुकाम रुकुमकोट ल्याइएको छ। सडक सञ्जालको पहुँच नपुगेका तथा पैदल हिँडेर पुग्नै एक दिन लाग्ने स्थानबाट मतपेटिका हेलिकप्टरमार्फत ल्याइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

सिस्ने गाउँपालिका–१ स्थित पाखापानी मतदान केन्द्र, पुथा उत्तरगङ्गा गाउँपालिका–२ पेल्मास्थित हिमाल आवि पेल्मा मतदान केन्द्र तथा सोही वडाको हार्दिबाङ मतदान केन्द्रका मतपेटिका हेलिकप्टरमार्फत सदरमुकाम ल्याइएको हो।

अन्य मतदान केन्द्रबाट पनि मतपेटिका ल्याउने क्रम जारी रहेको छ। सहायक निर्वाचन अधिकृत तथा सूचना अधिकारी ईश्वरीप्रसाद सुवेदीका अनुसार मध्यरातिसम्म सबै मतदान केन्द्रका मतपेटिका सङ्कलन भइसक्ने अपेक्षा गरिएको छ।

उनले शुक्रबार बिहान सर्वदलीय बैठक बसेपछि मतगणना सुरु गरिने जानकारी दिए। रुकुमपूर्वमा कुल ५६ मतदान केन्द्र रहेका छन् भने ३४ हजार ७७२ जना मतदाता रहेका थिए।

जिल्लाका सबै स्थानमा टेलिफोन सम्पर्क सहज नभएकाले कूल कति मत खस्यो भन्ने विवरण भने अझै प्राप्त हुन नसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

रुकुमपूर्व प्रतिनिधिसभा निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल सहित ११ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्।