काठमाडाैँ । स्याङ्जा क्षेत्र नम्बर २ अन्तर्गत वालिङ नगरपालिका–१० स्थित बालज्योति आधारभूत विद्यालयको मतदान केन्द्रमा ओटा वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको विषय बाहिरिएपछि मतगणना प्रक्रिया रोकिएको छ। विवाद समाधान नभएसम्म मतगणना सुरू गर्न नसकिने अवस्था सिर्जना भएको हो।
यस विषयमा बसेको सर्वदलीय बैठकले आवश्यक निर्णय गर्दै निर्वाचन आयोगमा लिखित जानकारी पठाइसकेको भए पनि आयोगबाट हालसम्म कुनै निर्देशन नआएकाले मतगणना सुरु हुन नसकेको क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत ऋषि पौडेलले जानकारी दिए।
पौडेलका अनुसार हस्ताक्षर नभएका १७१ ओटा मतपत्रलाई छुट्टै सिलबन्दी गरेर सुरक्षित राखिएको छ। आयोगबाट आवश्यक निर्देशन प्राप्त भएपछि सोहीअनुसार मतगणना प्रक्रिया अघि बढाइने उनले बताए।
यसअघि सोही विषयलाई लिएर मतदान केन्द्रमा विवाद उत्पन्न भएपछि केही समयका लागि मतदानसमेत स्थगित भएको थियो।
स्याङ्जा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले) का खिमबहादुर थापा, नेपाली कांग्रेसका भागवतप्रकाश मल्ल, नेपाल कम्युनिस्ट पार्टीका पदमबहादुर विक, राष्ट्रिय स्वतन्त्र पार्टीका झविलाल डुम्रे तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका रविन पाठक प्रतिस्पर्धामा छन्।


प्रतिक्रिया दिनुहोस्