काठमाडौँ । वीरेन्द्र बहादुर बस्नेतले सक्रिय राजनीतिबाट अलग हुँदै समाजसेवा र विकासका क्षेत्रमा योगदान दिने घोषणा गरेका छन्।
बुद्ध एयरका सञ्चालक तथा गतिशील लोकतान्त्रिक पार्टीका संस्थापक बस्नेतले शुक्रबार सार्वजनिक गरेको वक्तव्यमा अब स्वतन्त्र र जिम्मेवार नागरिकका रूपमा समाजसेवी अभियानमार्फत् मातृभूमिको सेवामा समर्पित रहने बताएका हुन्।
बस्नेतले गत भदौ २३ र २४ गते देशभर उर्लिएको जनविद्रोह र ७६ जना नवयुवाको सहादतले आफूलाई गहिरो रूपमा प्रभावित बनाएको उल्लेख गरेका छन्।
उनका अनुसार ती घटनाहरू केवल संयोग नभई भ्रष्टाचार, बेरोजगारी, गरिबी, शोषण र बेथितीविरुद्धको शक्तिशाली आवाजका रूपमा देखा परेका थिए। ती युवाहरूले सुशासन, समान अवसर, सम्मानजनक रोजगारी र समतामूलक समाजको सपना बोकेर आन्दोलन गरेको उनले बताएका छन्।
उनले जनविद्रोहले २४ घण्टाभित्रै पुरानो सत्ता ढालेपछि देश नयाँ दिशातर्फ मोडिन सक्ने विश्वास आफूमा जागेको उल्लेख गरेका छन्। सोही विश्वासका आधारमा दिगो रोजगारी, सुशासन र समतामूलक विकासको लक्ष्यसहित नयाँ राजनीतिक अभियानमा सहभागी हुँदै आफू गतिशील लोकतान्त्रिक पार्टीको केन्द्रीय सदस्य बनेको उनले बताएका छन्।
तर हालको राजनीतिक संस्कार आफ्नो मूल्य र सोचसँग मेल नखाएको निष्कर्षमा पुगेको भन्दै उनले पद र दलको सीमाभित्र रहेर देशप्रतिको आफ्नो अनुभव, क्षमता र समर्पणअनुसार योगदान दिन कठिन भएको उल्लेख गरेका छन्।
बस्नेतले आगामी दिनमा आफ्नो समय, ऊर्जा र सीप विश्लेषण, छलफल, समाधान र सिर्जनात्मक काममा केन्द्रित गर्ने बताएका छन्। स्थानीय तथा प्रदेश सरकारको सक्षम व्यवस्थापन, दिगो पर्यटन, व्यवसायमुखी कृषि र गुणस्तरीय माध्यमिक शिक्षामार्फत दिगो रोजगारी र समतामूलक समृद्धि हासिल गर्न सकिने विश्वास उनले व्यक्त गरेका छन्।
बस्नेतले अब स्वतन्त्र नागरिकका रूपमा समाजसेवी अभियानमार्फत मातृभूमिको सेवामा समर्पित रहने प्रतिबद्धता जनाउँदै आगामी यात्रामा नागरिकहरूको साथ, सहयोग र विश्वास पाउने आशा व्यक्त गरेका छन्।


प्रतिक्रिया दिनुहोस्