काठमाडौँ । स्याङ्जा क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का झविलाल डुम्रेलाई पराजित उम्मेदवारहरूले भेटेर बधाई दिएका छन्।
नेपाली कांग्रेसका उम्मेदवार भागवत प्रकाश मल्ल र नेकपा एमालेका उम्मेदवार खिम बहादुर थापाले डुम्रेलाई भेटेर निर्वाचनमा विजयी भएकोमा शुभकामना तथा बधाई व्यक्त गरेका हुन्।
निर्वाचन परिणाम सार्वजनिक भएपछि उनीहरूबिच भएको भेटमा लोकतान्त्रिक अभ्यासलाई सम्मान गर्दै विजयी उम्मेदवारलाई बधाई दिइएको बताइएको छ। भेटका क्रममा स्याङ्जाको विकास र जनताको अपेक्षा पूरा गर्न सफलताको कामना पनि गरिएको थियो।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्याङ्जा–२ बाट रास्वपाका डुम्रे २५ हजार ३५४ मत प्राप्त गर्दै विजयी भएका थिए। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका मल्लले २० हजार ८३० मत प्राप्त गरेका थिए भने एमालेका थापाले १४ हजार १०८ मत पाएका थिए।
पराजित उम्मेदवारहरूले निर्वाचन परिणामलाई स्वीकार गर्दै विजयी उम्मेदवारलाई भेटेर बधाई दिएकोलाई स्वस्थ लोकतान्त्रिक अभ्यासका रूपमा पनि हेरिएको छ।


प्रतिक्रिया दिनुहोस्