काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले समाजमा महिलामाथि हुने विभेद र असमानता अझै पूर्णरूपमा अन्त्य हुन नसकेको बताएका छन्। ११६ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आईतवार सिंहदरबारमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्।
अध्यक्ष मगरका अनुसार महिला अधिकारसम्बन्धी धेरै कानुन भए पनि कार्यान्वयन कमजोर रहेको छ। आयोगले द्वन्द्वकालदेखि अहिलेसम्म परेका महिला हिंसासम्बन्धी उजुरीहरूको अध्ययन गरी सरकारलाई कारबाहीका लागि सिफारिस गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन।
उनले भने, “आयोगमा परेका महिला हिंसासम्बन्धी उजुरीहरूमा अनुसन्धान गरी आवश्यक कारबाही, पीडितलाई क्षतिपूर्ति र राहत उपलब्ध गराउने सिफारिस हामीले सरकारलाई गरिसकेका छौँ, तर त्यसको कार्यान्वयन हुन सकेको छैन। हाम्रो मान्यता छ, यी सिफारिसहरूको कार्यान्वयन हुनुपर्छ।”
अध्यक्ष मगरले विगतको तुलनामा नेपालमा महिला अधिकारका क्षेत्रमा उल्लेखनीय सुधार आएको उल्लेख गर्दै महिलाले छोरासरह सम्पत्ति पाउने व्यवस्था कानुनमा सुनिश्चित भएको बताए। तर सामाजिक विभेद र असमानता अझै पूर्णरूपमा अन्त्य हुन नसकेको र यसका लागि थप काम गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो।
उनले नयाँ बन्ने सरकारले महिला अधिकारका क्षेत्रमा कानूनी सुधारसँगै त्यसको कार्यान्वयनमा पनि सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गरे। साथै, पर्याप्त अवसर दिइए महिलाहरू सबै क्षेत्रमा सक्षम भई काम गर्न सक्ने उनको भनाइ रहेको छ।


प्रतिक्रिया दिनुहोस्