पराजयपछि भागवत प्रकाश मल्लले भने: जनमतको सम्मान गर्दै मतदाताप्रति आभार


काठमाडाैँ । नेपाली कांग्रेसका स्याङ्जा क्षेत्र नं. २ का उम्मेदवार भागवत प्रकाश मल्ल प्रतिनिधि सभा निर्वाचनमा पराजित भएपछि मतदाताप्रति आभार व्यक्त गरेका छन्।

निर्वाचनपछि उनले प्रतिक्रिया दिँदै विशेष परिस्थितिमा सम्पन्न भएको निर्वाचनमा आफूलाई उपविजेता बनाएकोमा क्षेत्रका आम मतदाताप्रति धन्यवाद व्यक्त गरेका हुन्। उनले प्रतिस्पर्धामा विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बधाई दिँदै सफल कार्यकालको शुभकामना पनि दिएका छन्।

मल्लले निर्वाचनको परिणाम लोकतान्त्रिक प्रक्रियाको स्वाभाविक पक्ष भएको उल्लेख गर्दै आफू स्याङ्जा–२ का जनताको स्थायी प्रतिनिधिका रूपमा रहने बताएका छन्। क्षेत्रका समस्या, आवश्यकता तथा विकाससँग सम्बन्धित विषयमा निरन्तर पहल र प्रयास गर्ने आफ्नो जिम्मेवारी रहने उनको भनाइ छ।

निर्वाचनका क्रममा आफूले अगाडि सारेका प्रतिबद्धता तथा क्षेत्रसँग सम्बन्धित अन्य विषयहरू पनि आगामी दिनमा आफ्ना प्राथमिकतामा रहने उनले बताएका छन्। निर्वाचन अभियानका क्रममा क्षेत्रका ४५ वटै वडामा पुग्ने प्रयास गरेको उल्लेख गर्दै उनले मतदातालाई धन्यवाद दिन उपयुक्त अवसर पारेर घरदैलोमा पुग्ने बताएका छन्।

त्यस्तै उनले उम्मेदवारीका क्रममा विश्वास गरेर जिम्मेवारी दिएको नेपाली कांग्रेसका सबै तहका नेता तथा कार्यकर्ताप्रति आभार व्यक्त गरेका छन्। क्षेत्र, जिल्ला, पालिका, वडा र टोलस्तरका समितिका सदस्य तथा निरन्तर खटिएका इमानदार कार्यकर्ताको योगदान महत्वपूर्ण रहेको उनको भनाइ छ ।