चुनावमा बालेनको १४ लाख रूपैयाँ खर्च


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले चुनावी खर्चको विवरण सार्वजनिक गरेका छन् ।

झापा निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित बालेनले निर्वाचन आयोगलाई आफ्नो चुनावी खर्च विवरण बुझाएका हुन् । बालेनले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारी मतले हराएका थिए । गत फागुन २१ मा सम्पन्न निर्वाचनमा ओलीलाई बालेनले करिब ५० हजार मतान्तरले हराएका थिए । बालेनले ६८,३४८ मत प्राप्त गरेका थिए ।

उनले जिल्ला निर्वाचन कार्यालय, झापामा खर्च विवरण बुझाएका हुन् । बालेनले चुनावी अभियानका क्रममा कुल १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च गरेका छन् ।

२ ओटा भाडाका सवारी साधन (इन्धन सहित)को १५ दिनको लागि २ लाख ९३ हजार ८०० रूपैयाँ खर्च गरेका छन् । वडा स्तरीय प्रचार कार्यक्रममा २९ वटा वडामा १५ दिने घरदैलो कार्यक्रमका लागि ५ लाख ८० हजार रुपैयाँ, प्रचार सामग्री (ब्यानर, स्टिकर, झण्डा, ब्याज) मा २ लाख ७४ हजार ६१३ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ ।

कार्यालय सञ्चालनमा झापा ५ क्षेत्रीय निर्वाचन कार्यालय २ महिना सञ्चालन(९पानी र स्टेसनरी खर्च) एक लाख ४२ हजार ८२० रुपैयाँ, हवाई भाडा ५ पटकको यात्राका लागि ३५ हजार रूपैयाँ, मतदाता प्रशिक्षणमा १५ जनाका लागि खाजा खर्च २८ हजार ९७० रूपैयाँ र नमूना मतपत्र छपाइमा ४२ हजार ८६ र मनोनयन दर्ता शुल्कमा १० हजार रुपैयाँ खर्च भएको विवरणमा जनाइएको छ ।