काठमाडाैँ । मतदानका लागि लुकिछिपी आएका फरार कसूरदारहरूलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले अदालतबाट फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका फरार व्यक्तिहरूलाई पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार निर्वाचन लक्षित पूर्व रणनीतिअनुसार मतदानपछि विभिन्न स्थानबाट फरार कसूरदारहरूलाई पक्राउ गरिएको हो।
प्रहरीले दिएको जानकारीअनुसार गत फागुन २१ गते पक्राउ परेका ती व्यक्तिहरूलाई कैद भुक्तान तथा जरिवाना असुलका लागि २०८२ फागुन २५ गते स्याङ्जा जिल्ला अदालतमा पठाइएको छ।
पक्राउ पर्नेमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ का ४० वर्षीय प्रेमबहादुर दर्जी रहेका छन्। कर्तव्य ज्यान मुद्दामा उनलाई २० वर्ष कैद सजाय तोकिएको थियो। उनलाई अर्जुनचौपारी–५ स्थित तालपोखरीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
त्यस्तै, पुतलीबजार नगरपालिका–५ सुरौदीका ५८ वर्षीय बुद्धिमान शाही पनि पक्राउ परेका छन्। बैंकिङ कसूर सम्बन्धी दुई वटा मुद्दामा अदालतले उनलाई क्रमशः दुई दिन र एक दिन कैद तथा एक लाख ६३ हजार र एक लाख रुपैयाँ जरिवाना तोकेको थियो। उनलाई पुतलीबजार–५ कटुन्जेचौरबाट पक्राउ गरिएको हो।
यसैगरी आँधिखोला गाउँपालिका–४ सरादीका ७४ वर्षीय रामबहादुर कामीलाई पनि प्रहरीले पक्राउ गरेको छ। बहुविवाह मुद्दामा उनलाई दुई वर्ष पाँच महिना १३ दिन कैद र २५ हजार रुपैयाँ जरिवाना तोकिएको थियो। उनलाई आँधिखोला–४ सेपत सिरानचौरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्