अब राष्ट्रिय सभाको भुमिका बढ्योः सांसदहरु


काठमाडाैँ । राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सदस्यहरुले मुलुकमा विकसित पछिल्लो परिस्थितिमा राष्ट्रिय सभाको भुमिका बढ्दै गएको बताएका छन् ।

सोमबार २० फागुनमा कार्यकाल सकिएका सांसदहरुको बिदाईका लागि राखिएको समितिको बैठकमा उनीहरुले यस्तो धारणा राखेका हुन् ।

बैठकमा नेपाली कम्युनिष्ट पार्टीकी सांसद रेनु चन्दले ऐन र कानून निर्माणको क्षेत्रमा संसदको माथिल्लो सदनको भुमिका बढेको बताइन् ।

उनले अगामी दिनमा सभालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा गम्भीर हुन जरुरी रहेको उल्लेख गरिन् । संविधान संशोधन जस्ता महत्वपूर्ण मुद्दाहरु र नयाँ ऐन, कानून बनाउनुपर्ने मुद्दाहरुमा सभाको स्ट्याण्ड के हुने भन्ने विषयमा गृहकार्यमा जुट्न जरुरी रहेको उनकाे भनाइ छ ।

उनले भनिन्, “अहिले बदलिएको परिस्थितिमा यो सभाको भुमिका अझै बढेर गएको छ । अब हामीले अगामी दिनमा कसरी आफूलाई प्रश्तुत गर्छौं । यद्यपि कानून निर्माणको दृष्टिले हाम्रो हाउसलाई त्यति धेरै अधिकार दिएको छैन । तरपनि संविधान संशोधन जस्ता महत्वपूर्ण मुद्धाहरु र नयाँ ऐन कानून बनाउनुपर्ने मुद्दाहरुमा हामीले गम्भीरतापूर्वक यो विषयलाई लिनुपर्छ ।”

नेपाली काँग्रेसका सांसद पदमकुमार परियारले सभाअन्तर्गको यस समितिले कार्यसम्पादनको गति बढाउन जरुरी रहेको बताए । उनले कानून निर्माणदेखि अन्य निर्णयको सवालमा समितिले प्रभावकारी काम गर्नुपर्ने उल्लेख गरे । समितिको हालकै कार्यसम्पादन शैलीले प्रभावकारी काम गर्न नसकिने उनको भनाइ छ । 

उनले भने, “अगामी दिनमा हामीले सिक्नुपर्ने कुरा के छ भने अगामी दिनमा हामीले समितिको यही गतिको काम पर्याप्त हुदैन । यसको गति अलिकति बढाउनुपर्ने हो कि ? त्यतातिर हामी सबैले सोच्नुपर्नेछ ।”

नेकपा (एमाले)की सांसद सुमित्रा बी.सी.ले पछिल्लो निर्वाचन परिणामलाई कुनैपनि दलले असहज रुपमा लिन नहुने बताइन् । उनले मुलुकमा प्रत्येक दश वर्षमा कुनै न कुनै राजनीतिक दलले बहुमतच ल्याउँदै आएको उल्लेख गर्दै सभाको प्रभावकारिता बढाउन सबैले मेहनत गर्न जरुरी रहेको बताइन् । 

उनले भनिन्, “हाम्रो देशमा प्रत्येक १० वर्षमा एउटा एउटा लहर आउने रहेछ । २०४८ तिर नेपाली काँग्रेसको बाहुल्यता थियो । २०५४ सालमा स्थानीय तहको निर्वाचन हुने बेलामा नेकपा (एमाले)को लहर आयो । २०६४ सालमा तत्कालीन नेकपा (माओवादी)को आयो । र अहिले पनि परिवर्तको पक्षमा लहर आएको छ ।  यो बीचमा भएका घटनाहरुका पक्षमा म धेरै व्यख्या गर्दिनँ । जे होस् गत २३ र २४ भदौको आन्दोलनको जगमा टेकेर सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन भयो । यो चुनावी नतिजालाई हामीले अन्यथा लिएका छैनौँ । पञ्चायत समेत भोगेको भएर हामीलाई यो नतिजा पचाउन सजिलो भएको छ ।”

समिति सभापति मायाप्रसाद शर्मासहितका राष्ट्रिय सभा कार्यकाल सकिएका सदस्यहरुको विदाई गरिएको छ ।