अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेन संकट र इरानसँगको अमेरिका–इजरायल युद्धका विषयमा निकै राम्रो टेलिफोन वार्ता भएको बताएका छन् ।
सोमबार भएको उक्त वार्तामा आफ्ना रुसी समकक्षी मध्यपूर्वमा सहयोग गर्न इच्छुक रहेको ट्रम्पले उल्लेख गरे । फ्लोरिडामा आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले निकै राम्रो कुराकानी भएको र पुटिन निकै रचनात्मक रहेको बताए ।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि भीषण आक्रमण गरेपछिको यो पहिलो फोन वार्ता हो । सो अवसरमा दुई नेताबिच पाँचौँ वर्षमा प्रवेश गरेको रुस–युक्रेन युद्धको विषयमा पनि छलफल भएको ट्रम्पले जानकारी दिए ।
ट्रम्पले यस विषयमा सकारात्मक कुराकानी भएको बताए । यसअघि सोमबार नै रुसी राष्ट्रपतिका सहयोगी युरी उसाकोभले दुई नेताबिचको कुराकानीलाई स्पष्ट र व्यावसायिक भन्दै यो वार्ता करिव एक घण्टा चलेको जानकारी दिएका थिए ।
उसाकोभका अनुसार खाडी मुलुकका नेताहरू र इरानी राष्ट्रपतिसँगको परामर्शपछि राष्ट्रपति पुटिनले द्वन्द्वको द्रुत राजनीतिक र कुटनीतिक समाधानका लागि केही विचारहरू व्यक्त गरेका थिए ।
जवाफमा ट्रम्पले वर्तमान विकसित परिस्थितिको बारेमा आफ्नो मूल्याङ्कन प्रस्तुत गरे । दुई नेताबिच विश्वव्यापी तेल बजारको सन्दर्भमा भेनेजुएलाको विषयमा पनि संक्षिप्त चर्चा भएको उसाकोभले बताए।
सोमबार नै राष्ट्रपति पुटिनले रुसले बारम्बार चेतावनी दिँदै आएको स्मरण गराउँदै मध्यपूर्वको स्थितिलाई अस्थिर बनाउने प्रयासले अनिवार्य रूपमा विश्वव्यापी ऊर्जा बजारलाई जोखिममा पार्ने, मूल्य बढाउने र आपूर्ति सीमित गर्ने बताए ।


प्रतिक्रिया दिनुहोस्