काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले औषधि व्यवस्था विभाग र राष्ट्रिय औषधि प्रयोगशालाको क्षमता अभिवृद्धि र सुदृढीकरणको गर्ने भएको छ ।
शुक्रवार स्वास्थ्य पत्रकार मञ्च नेपालले ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्रालयका नीति योजना महाशाखा प्रमुख डा. चुमनलाल दासले यस्तो बताएका हुन् । उनले जनशक्ति र पूर्वाधारको अभावमा यी निकायले प्रभावकारी रूपमा काम गर्न नसकेको गुनासो आइरहेका बेलासुधारका प्रक्रियाहरू अगाडि बढिसकेको जानकारी दिए।
डा. दासकाअनुसार हाल राष्ट्रिय औषधि प्रयोगशालाको क्षमता वर्षमा जम्मा ५ देखि ६ सय वटा औषधिको मात्र परीक्षण गर्नसक्ने रहेको छ ।जबकि आवश्यकता ९ देखि १२ हजारसम्मको छ ।
यी दुवै निकायको सुदृढीकरणका लागि जनशक्ति थप गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षणको काम अगाडि बढिसकेको डा. दासले जानकारी दिए। जनशक्तिका साथसाथै नयाँ प्रविधि र पूर्वाधार विकासको काम पनि द्रुत गतिमा अगाडि बढिरहेको उनले बताए ।
स्वदेशी औषधि उत्पादन प्रर्वधन गर्न अन्तर–मन्त्रालय समन्वय आवश्यक
मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई बढावा दिन र यस क्षेत्रको नीतिगत सुधारका लागि अन्तर–मन्त्रालय समन्वयमा जोड दिएको बताएको छ । औषधि उद्योगको विकास र विस्तार स्वास्थ्य मन्त्रालयको मात्र एकल प्रयासले सम्भव नहुने भन्दै अर्थ, उद्योग र कानून मन्त्रालयको समेत सक्रिय सहभागिता हुनुपर्ने दासले बताए।
डा. दासले देशको अर्थतन्त्रको मुख्य आधार नै उत्पादन भएको र उत्पादित सामग्रीलाई निर्यात गर्नसके मात्र औद्योगीकरणले सार्थकता पाउने बताए । डा. दासले हाल कायम रहेको औषधि ऐन र नियम कानूनहरूको पूर्ण पालना र कार्यान्वयनको अवस्थाबारे समीक्षा गर्नुपर्ने बेला आएको बताए ।
कतिपय अवस्थामा बैठकहरू नबस्ने, बसे पनि निर्णयहरू कार्यान्वयन नहुने र भएकै नीतिहरू पनि लागू गर्न नसकिएको यथार्थलाई स्वीकार गर्दै उनले अब त्यस्तो अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिए। औषधि उत्पादनका लागि कच्चा पदार्थ ल्याउनेदेखि लिएर उद्योग स्थापना, उत्पादन, गुणस्तर परीक्षण र अन्तिम उपभोक्तासम्म पुग्ने सम्पूर्ण चरणहरूमा मन्त्रालयले सहजीकरण गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्