विष्णु पाैडेलको चुनाव खर्च २८ लाख, कुन शिर्षकमा कति ?


काठमाडाैँ । रुपन्देही २ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार विष्णु प्रसाद पौडेलले आफ्नो निर्वाचन खर्च सार्वजनिक गरेका छन्। निर्वाचन आयोगको निर्देशिका, २०८२ अनुसार प्रस्तुत विवरणमा उनले निर्वाचनको क्रममा खर्च गरेको सम्पूर्ण रकम सार्वजनिक गरेका हुन्।

पौडेलले निर्वाचन आयोगमा बुझाएको विवरणअनुसार उनको कुल खर्च २८ लाख ७ हजार १०० रुपैयाँ रहेको छ। यसमा मतदाता नामावली खरिद, सवारी साधन भाडा र इन्धन, छापा तथा विद्युतीय माध्यममार्फत गरिएको प्रचार-प्रसार, कार्यकर्ता परिचालन, कार्यालय सञ्चालन र अन्य विविध खर्च समावेश छन्।

उम्मेदवारले बुझाएको विवरणअनुसार मतदाता नामावली खरिदमा ९८ हजार रुपैयाँ, सवारी साधन र इन्धनमा ८ लाख ९७ हजार २७५ रुपैयाँ, प्रचार-प्रसारमा ८ लाख ३४ हजार रुपैयाँ, छपाइ कार्यमा १ लाख ९० हजार रुपैयाँ, कार्यकर्ता परिचालनमा ५५ हजार रुपैयाँ र अन्तर्क्रिया कार्यक्रममा ४५ हजार रुपैयाँ खर्च भएको देखिन्छ। त्यस्तै, एसएमएस खर्च १ लाख ७५ हजार, प्रतिनिधि परिचालन २६ हजार ५००, कार्यालय सञ्चालन २ लाख ६४ हजार र विविध खर्च २ लाख २२ हजार ३२५ रुपैयाँ रहेको छ।

उक्त विवरण प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा निर्वाचन आयोगद्वारा स्वीकृत आचारसंहिता अनुसार तयार गरिएको हो।