काठमाडाैँ । नवनिर्वाचित प्रतिनिधि सभा सदस्य डा.तोसिमा कार्कीले नेपालमा स्वास्थ्य सेवा महँगो हुँदा वार्षिक पाँच लाख नेपाली गरिबीको रेखामुनी पुगेको बताएकी छन् ।
स्वास्थ्य पत्रकार मञ्च नेपालले मंगलवार ललितपुरमा आयोजना गरेको कार्यक्रममा उहाँले स्वास्थ्य सेवा र औषधिको उच्च लागतका कारण प्रत्येक वर्ष करिव पाँच लाख नेपाली गरिबीको रेखामुनि धकेलिने अवस्था रहेको बताएका हुन् । उनले स्वास्थ्य उपचारका क्रममा नागरिकले गर्ने खर्चमध्ये झन्डै ६० प्रतिशत रकम औषधि मै खर्च हुने गरेको उल्लेख गरिन्।
नेपालमा औषधि सस्तो रहेको दाबी गरिएपनि व्यवहारमा नागरिकले ठूलो आर्थिक बोझ व्यहोर्नुपरेको उनको भनाइ छ । उनले औषधि र स्वास्थ्य सेवा दुबैलाई गुणस्तरीय बनाउनुपर्नेमा जोड दिइन् । कम गुणस्तरका औषधि वितरण गर्नु र त्यसको प्रभावकारी नियमन नगर्नु गम्भीर अपराध भएको उनले बताइन् । यस्ता गतिविधिमा संलग्नलाई कडा कारबाही गर्नुपर्ने उहाँको भनाई छ । उहाँले औषधि ऐनलाई पनि संसोधन गर्नुपर्ने बताइन् ।
२०३५ सालमा बनेको औषधि ऐन अहिलेको समयानुकुल नभएको उनको भनाइ छ । उनले नेतृत्वमा ईच्छाशक्ति नहुँदा र अनैतिक खेलका कारण कानून संशोधनमा ढिलाई हुने गरेको बताइन् । विक्री–वितरण आचारसंहिता लगायतको नीति लामो समयदेखि थन्किएर बसेको पनि उनको भनाइ छ ।
उनले ३५ वटा औषधि उत्पादनमा नेपाल आत्मनिर्भर भएपनि आवश्यक स्वीकृति र नीतिगत निर्णय नहुँदा उत्पादन रोकिएर बसेको जानकारी दिइन् । उनले आगामी सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर आवश्यक कानूनी सुधार गर्ने जानकारी दिइन् । अब बन्ने राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले स्वास्थ्य क्षेत्रमा सेवकको भुमिका निर्वाह गर्ने बताइन् ।
उनले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित केही परिषद् र समितिले काम नगरेको गुनासो आएको बताइन्। काम नगर्ने परिषद् तथा समितिलाई अब बन्ने सरकारले खारेज गर्ने र नयाँ बनाउने बताइन् ।


प्रतिक्रिया दिनुहोस्