समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, अन्तिम नतिजा भोलिसम्म सार्वजनिक हुने आयोगको अनुमान


काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको जनाएको छ। आयोगका अनुसार मतगणना बुधवार बिहानसम्म सम्पन्न हुने अनुमान गरिएको छ।

मंगलवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै आयोगका सहायक प्रवक्ता कुलबहादुर जी.सी. ले समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको जानकारी दिए। उनका अनुसार मंगलवार अपराह्नसम्म करिब ३–४ वटा निर्वाचन क्षेत्रको मतगणना प्रक्रिया मात्रै जारी रहेको छ।

उनले मतगणनाको गति यही अनुपातमा जारी रहेमा आज मध्यरात वा भोलि बिहानसम्म सबै निर्वाचन क्षेत्रको मतगणना सकिने र अन्तिम परिणाम भोलि बिहान नभए दिउँसोसम्म सार्वजनिक हुनसक्ने आयोगको अनुमान रहेको बताए । तर कतिपय स्थानमा उम्मेदवार वा प्रतिनिधिबिच विवाद उत्पन्न भएमा तथा सदर–बदर मतको विषयमा असहमति देखिएमा अन्तिम परिणाम आउन केही ढिलाइ हुनसक्ने उनको भनाइ छ।

जी.सी.का अनुसार केही जिल्लामा औसतमा ३ देखि ४ प्रतिशतसम्म मत बदर भएको देखिएको छ। गत निर्वाचनको तथ्यांक अध्ययन गर्दा औसतमा करिब ५ प्रतिशत मत बदर हुने अनुमान गरिएको उनले बताए । अन्तिम रूपमा भने समानुपातिकतर्फको मतगणना सम्पन्न भएपछि मात्र सदर तथा बदर मतको यकिन तथ्यांक सार्वजनिक हुने आयोगले जनाएको छ।

समानुपातिकतर्फको मतगणना सम्पन्न भएपछि राजनीतिक दलहरूलाई सिट बाँडफाँट प्रक्रियाका लागि आयोगले औपचारिक पत्राचार गर्ने तयारी रहेको पनि सहायक प्रवक्ता जी.सी.ले जानकारी दिए ।

यसअघि प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत प्रत्यक्षतर्फका सबै १ सय ६५ निर्वाचन क्षेत्रको अन्तिम परिणाम घोषणा भइसकेको छ। सार्वजनिक नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी १२५ सिट जित्दै पहिलो दल बनेको छ।

त्यसैगरी नेपाली कांग्रेस ले १८ सिट जित्दै दोस्रो स्थान हासिल गरेको छ भने नेकपा एमाले ले ९ सिट जितेर तेस्रो स्थानमा रहेको छ। त्यस्तै नेपाल कम्युनिस्ट पार्टी ले ८ सिट जितेको छ। नयाँ रूपमा उदाएको श्रम संस्कृति पार्टी ले ३ सिट जित्दै उत्साहजनक उपस्थिति जनाएको छ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी ले १ सिट जितेको छ भने एक स्वतन्त्र उम्मेदवार पनि विजयी भएका छन्। आयोगका अनुसार समानुपातिकतर्फको मतगणनामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी ले फराकिलो मतान्तरसहित अग्रता कायम राखेको छ।