पार्टी र सरकारभित्र रणनीतिक सन्तुलन मिलाउने कसरतमा ‘वेटिङ प्राइमिनिस्टर’ बालेन्द्र शाह


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन २१ गते भएको प्रतिनिधि सभाको चुनावमा दुईतिहाइ नजिकको बहुमत ल्याएर सरकार बनाउने पक्का भएको छ ।

चैतको दोस्रो हप्तामा नयाँ सरकार गठनको तयारी भइरहँदा चुनावअघि नै घोषणा गरिएअनुसार वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री बन्ने छन् ।

नयाँ पार्टी र नयाँ जनमत भएकाले तत्कालै तलमाथि नहोला भन्ने आकलन त छ यद्यपी ‘वेटिङ प्राइमिनिस्टर’ शाहले केही रणनीतिक ‘मुभ’ गर्न खोजेको देखिन्छ भने रास्वपाका केही नेतृत्व र सांसदसहितका व्यक्तिको धारणा सुन्दा ‘चिसोपना’ महसुस हुन्छ ।

रास्वपाका सांसदको ‘चिसोपना’

राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौँ महानगरपालिकाका मेयरबाट राजीनामा दिएका बालेन्द्र शाहलाई भित्रायो र प्रधानमन्त्रीको उम्मेदवारका रूपमा घोषणा गरेर चुनावमा गयो ।

दुइतिहाइ नजिकको बहुमत पक्का गरेको रास्वपाका शिर्ष नेता र सांसदका धारणा हेर्दा ‘केही चिसोपना झल्किन्छ’ ।

मिडिया र सामाजिक सञ्जालमा आएका धारणा हेर्दा रास्वपाका सांसदले एक शब्दमा ‘बालेन हाम्रो प्रधानमन्त्री हो’ भन्न नसकेको देखिन्छ । रास्वपाका सांसदहरूले बालेन प्रधानमन्त्री हो कि होइन भन्ने विषयलाई घुमाउरो व्याख्या गर्ने गरेका छन् ।

बालेनसँगको सम्झौतामा सभापति रवि लामिछानेले हस्ताक्षर गर्दा साछी रहेका उपसभापति डी पी अर्यालले समेत सिधा जवाफ दिएनन् ।

यो प्रवित्तृ रवि लामिछाने पक्षका सांसदहरूमा बढी देखिन्छ । स्वयं रवि लामिछानेले समेत ‘प्रधानमन्त्री बालेन जी नै हो’ भन्ने तर विषय डाइभर्ट गर्ने गरेको बालेन समूहले ‘नोटिस’ गरेको छ ।

बालेन निकट स्रोतले भन्यो,“ अहिले नै समस्या नै त नहोला तर कहीँ न कहीँ चिसोपना छ भन्ने देखिन्छ ।”

बालेन समूहबाट चुनाव जितेका काठमाडौँ महानगरपालिकाका पूर्वप्रहरी प्रमुख राजुनाथ पाण्डेले मात्रै सिधै ‘प्रधानमन्त्री बालेन जी हो, दायाँबायाँ हुँदैन’ भन्ने गरेका छन् ।

मिडियामा र समाजिक सञ्जालमा भनाई तोडमोड गरिएको आरोप लगाए पनि रवि समूहका पदाधिकारी वा सांसद बालेन प्रधानमन्त्री हो भनेर सिधा भनिरहेका छैनन् जबकि पार्टीले यसअघि नै घोषणा गरिसकेको विषय हो ।

सबै हेर्दा नयाँ जनादेशअनुसार बालेन प्रधानमन्त्री बने पनि रास्वपाभित्र एउटा समूहमा चिसोपना छ भन्ने बालने समूहले प्रष्ट बुझेको देखिन्छ ।

बालेनद्वारा ‘रणनीतिक मुभ’को प्रयास

रास्वपाभित्र बालेनको साङ्गठनिक पकड छैन । प्रधानमन्त्री बन्दा पनि मन्त्रीहरू पूर्ण सहयोगि चाहिन्छ । बालेन सुरुमै अर्थतन्त्र क्षेत्रमा केही नयाँ सुरु गर्न चाहन्छन् । रास्वपाभित्र अर्थमन्त्रीको रूपमा स्वर्णिम वाग्लेको चर्चा छ ।

यतिमात्रै होइन सार्वजनिक रुपमै चुनाव अघि भएको एउटा कार्यक्रममा सभापति रवि लामिछानेले वाग्लेलाई ‘बजेट लेख्ने तयारी’ गर्नुस् भनेका थिए ।

अहिले अर्थमन्त्रीको रूपमा स्वार्णिमसँगै रामेश्वर खनालको समेत चर्चा देखिएको छ ।

यसलाई कतिपयले ‘मिडिया ट्रयाल’ भन्ने गरेका छन् । विभिन्न स्रोतहरूले अनुसार वर्तमान अर्थमन्त्री रामेश्वर खनालको चर्चा पनि सही भएको पुष्टि गरेको छ । बालेन अर्थमन्त्रीको रूपमा खनाललाई आफ्नो क्याबिनेटमा रहुन् भन्ने चाहन्छन् ।

पार्टीमा आर्थिक क्षेत्रमा स्वार्णिमलाई सन्तुलनमा राख्ने आफ्नो तर्फबाट कोही नभएको निष्कर्षमा पुगेका बालेनले वर्तमान अर्थमन्त्री खनाललाई अगाडि बढाउन चाहेका हुन् ।

स्रोतले भन्यो,“ अरु विषय धेरै थाहा भएन तर उहाँ(बालेन)ले खनाल सरलाई सकारात्मक मान्नुहुन्छ ।”

वाग्लेलाई अहिले अर्थमन्त्री नबनाउँदा पार्टीभित्रको सन्तुलन बिग्रनेमा बालेन सचेत छन तर उनको चाहना रवि समूहलाई गृह दिएर आफू निकटकालाई अर्थमन्त्री बनाउने छ ।

स्रोतहरूका अनुसार बालेनले खनाललाई कम्तिमा पनि आफ्नो आर्थिक सल्लाहकार बनाउने कसरतमा छन् । सके अर्थमन्त्री नभए, प्रधानमन्त्रीको आर्थिक सल्लाहकार बनाएर वर्तमान अर्थमन्त्री खनालको सहयोग लिने पक्षमा बालेन टिम छ ।

प्रस्ताव आए नाइ भन्ने पक्षमा छैनन खनाल

हिजो मात्रै रातो पासर्पोट फिर्ता गरेका खनाल अर्थ मन्त्रालयमा पुर्सदिला भएर बस्न थालेका छन् ।

उनले आफूलाई कुनै फाइल नल्याउन कर्मचारीलाई भनिसकेका छन् ।

केही समय अर्थ मन्त्रालय आउने आफू कर्मचारीहरूसँग गफिने र फर्केर जाने गरेका छन् । उनले यो ६ महिनाको अवधिमा आर्थिक क्षेत्रमा उल्लेखनीय सुधार गरेको उनले सुनाउने गरेका छन् ।

उनी निकट स्रोतहरूका अनुसार ‘वेटिङ प्राइमिनिस्टर’ले बोलाएर सहयोग गर्नुपर्‍यो भने अस्वीकार गर्ने पक्षमा भने छैनन् ।

बालेटको टिमले खनाललाई राष्ट्रिय सभामा नियुक्त गरेर अर्थमन्त्री वा विज्ञ सल्लाहकारको रूपमा भए पनि लैजान कसरत गरिरहेको छ ।

यसो गर्दा आर्थिक क्षेत्रको भरपर्दा र वाग्लेलाई ‘चेक एन्ड ब्यालेन्स’ गर्न सकिने निष्कर्षमा बालेन टिम छ ।

स्रोतले भन्यो,“राष्ट्रिय सभामा नियुक्त गरेर हुन्छ वा सिधै हुन्छ छलफल भइरहेको छ ।”