सरकारलाई ५ हजार नेपाली नागरिकले गराए मध्यपूर्वमा आफू असुरक्षित रहेको जानकारी


काठमाडाैँ । मध्यपूर्वमा बढ्दो तनावकाबीच ५ हजार नेपाली नागरिकले आफू असुरक्षित रहेको जानकारी सरकारी संयन्त्रमा टिपाएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

बुधवार मन्त्रालयले प्रेस ब्रिफिङको आयोजना गर्दै सो जानकारी गराएको हो । ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले पश्चिम एशियामा नेपाली नागरिकहरूको अवस्था अद्यावधिक विवरण सङ्कलनका लागि कन्सुलर सेवा विभागले सञ्चालनमा ल्याएको अनलाइन दर्ता प्रणालीमा ५ हजार बढी नागरिकले आफ्नो अवस्था असुरक्षित रहेको जानकारी गराएको उल्लेख गरे।

यद्यपि पछिल्लो समयमा विवरण अद्यावधिक गर्दै केहीले आफू सुरक्षित रहेको जानकारी समेत गराइसकेको उनको भनाइ छ । असुरक्षित रहेका नागरिकहरूको सुरक्षाका लागि विदेशस्थित नियोगहरूसँग आवश्यक समन्वय भइरहेको समेत क्षेत्रीको भनाइ छ । बढ्दो तनावका कारण समस्यामा परेका नागरिकको सुरक्षाका लागि सरकारले गम्भीरतापूर्वक काम गरिरहेको उनको भनाइ छ । 

उनले मध्यवपूर्वमा बढ्दो तनावको विषयमा अध्ययन गरी सरकारलाई सिफारिस गर्न गठित इमरजेन्सी रिस्पोन्स टिमले कार्यसम्पादन जारी राखेको जानकारी समेत गराए ।