चुनावमा अन्तरघात गरेको भन्दै स्याङ्जा एमालेले गर्‍यो ४ जना नेतालाई कारवाही


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्याङ्जा जिल्ला समितिले प्रतिनिधि सभा निर्वाचनको क्रममा पार्टीको विश्वास र जिम्मेवारीमा खोट भेटिएको भन्दै चार जना नेता तथा कार्यकर्तालाई पार्टीबाट निष्कासन गरेको छ।

पार्टीको विज्ञप्तिअनुसार गत फागुन २१ मा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले जिल्लामा आफ्नो संगठन र सम्भावना अनुसारको अपेक्षित नतिजा हासिल गर्न सकेन। यस नतिजामा केही नेता तथा कार्यकर्ताको नियतजन्य भूमिका रहेको देखिएको छ।

आज बसेको जिल्ला कार्यालयको बैठकले प्रमाणका आधारमा उनीहरूको पार्टी विधानको धारा ८० को उपधारा (१) देखि (६) सम्म उल्लङ्घन गरेको निष्कर्ष निकाल्दै कारवाही गर्ने निर्णय गरेको हो।

यस निर्णय अनुसार पार्टीबाट शिव प्रसाद पराजुली (फेदीखोला), मञ्जु केसी (वालिङ्ग), राजु कोइराला (चापाकोट) र पुन्य प्रसाद अर्याल (वालिङ्ग) निष्कासन भएका छन् ।

पार्टीले विज्ञप्तिमार्फत उनीहरूलाई पार्टीको सम्पूर्ण जिम्मेवारी, जनसंगठनका अन्य पदिय जिम्मेवारी र सदस्यता समेतबाट बाहिर गरिएको जानकारी दिएको छ।