स्याङ्जा–२ बाट निर्वाचित डुम्रेले भने: सपनासहित राजधानी पुगे, जिम्मेवारी पूरा गर्न प्रतिबद्ध छु


काठमाडाैँ । स्याङ्जा-२ का नव निर्वाचित सांसद झविलाल डुम्रेले आफ्नो निर्वाचन क्षेत्रका जनता समक्ष कर्तव्यबोध व्यक्त गर्दै, ठूलो जिम्मेवारी बोकेर राजधानी काठमाडाैँ पुगेको बताएका छन्।

उनले सामाजिक सञ्जालमार्फत जारी गर्दै व्यक्तिगत सपना बोकेर काठमाडौँ आएको नभइ समग्र स्याङ्जा–२ का सपनासहित आएको बताए । उनले भने, “तपाईँहरूले मलाई कुनै पद वा शक्ति दिएर नभइ, ठूलो जिम्मेवारी बोकाएर पठाउनुभएको हो भन्ने कुरा मैले बुझेको छु।”

डुम्रेका अनुसार निर्वाचन विजयपछिका धन्यवाद यात्रामा समयको अभावका कारण सबै गाउँघर पुग्न नसकेको भए पनि अब उनी आफ्ना कामकाजसहित सम्पूर्ण क्षेत्रलाई प्रत्यक्ष भेट्न जानेछन्। उनले चुनावी अभियानमा कुनै भूल–चुक भए त्यसका लागि क्षमा याचना पनि गरेका छन्।

उनले भने,“अब मैले तपाईँहरूले दिएको जिम्मेवारी पूरा गर्न बनाइरहेको योजनाहरू चाँडै सार्वजनिक गर्नेछु। तपाईँहरूले मेरो आँखामा देख्नुभएको आशा कहिल्यै खेर जान दिने छैन।”