७ महिनामा ५० अर्बभन्दा बढी धितोपत्र सूचीकृत, बजार पुँजीकरण ४४.८४ खर्ब रुपैयाँ


काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो सात महिनामा नेपालका पूँजी बजारमा उल्लेख्य मात्रामा नयाँ धितोपत्र थपिएका छन्। उक्त अवधिमा कुल ५० अर्ब ९४ करोड रुपैयाँ बराबरका धितोपत्र सूचीकृत भएका छन्।

नेपाल स्टक एक्सचेन्ज का अनुसार यस अवधिमा २१ अर्ब ९६ करोड रुपैयाँ बराबरको साधारण सेयर (आइपिओ), ९ अर्ब ६४ करोड रुपैयाँ बराबरको हकप्रद सेयर, ७ अर्ब ५० करोड रुपैयाँ बराबरको म्युचुअल फन्ड, ७ अर्ब ४९ करोड रुपैयाँ बराबरको बोनस सेयर, ३ अर्ब ४० करोड रुपैयाँ बराबरको डिबेन्चर, ९२ करोड ५० लाख रुपैयाँ बराबरको एफपीओ तथा २ करोड २९ लाख रुपैयाँ बराबरका अन्य धितोपत्र सूचीकृत भएका हुन्।

यसै अवधिमा नेपाल धितोपत्र बोर्ड ले पनि सार्वजनिक निष्कासनका लागि कुल २४ अर्ब ४२ करोड रुपैयाँ बराबरका धितोपत्रलाई अनुमति दिएको छ।

बोर्डले १३ अर्ब १३ करोड रुपैयाँ बराबरको म्युचुअल फन्ड, ६ अर्ब ६४ करोड रुपैयाँ बराबरको साधारण सेयर, ४ अर्ब ४१ करोड रुपैयाँ बराबरको हकप्रद सेयर, २० करोड रुपैयाँ बराबरको डिबेन्चर र ५ करोड रुपैयाँ बराबरको एफपीओ जारी गर्न स्वीकृति दिएको हो।

माघ मसान्तसम्म नेप्सेमा सूचीकृत सेयरको चुक्ता मूल्य ९०८ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ भने सूचीकृत कम्पनीको संख्या २८४ पुगेको छ। तीमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी, ९७ जलविद्युत् कम्पनी, २६ उत्पादन तथा प्रशोधन उद्योग, ८ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र १० अन्य समूहका कम्पनी रहेका छन्।

यस अवधिमा नेप्से सूचकांक भने सामान्य घटेको देखिन्छ। २०८१ माघ मसान्तमा २६८५।७३ रहेको नेप्से सूचक २०८२ माघ मसान्तमा घटेर २६७१।०७ मा कायम भएको छ।

यस्तै, धितोपत्र बजारको कुल बजार पुँजीकरण २०८२ माघ मसान्तमा ४४८४ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ४४५८ अर्ब ५२ करोड रुपैयाँभन्दा केही बढी हो। तर कुल गार्हस्थ्य उत्पादन ९जीडीपी० को अनुपातमा बजार पुँजीकरण भने ७८.०९ प्रतिशतबाट घटेर ७३.४३ प्रतिशत मा झरेको छ।

क्षेत्रगत रूपमा हेर्दा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूको बजार पुँजीकरणमा ५१.७ प्रतिशत हिस्सा रहेको छ। त्यसपछि जलविद्युत् कम्पनीको १६ प्रतिशत, लगानी कम्पनीको ७.४ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको ७ प्रतिशत, व्यापारिक संस्थाको ४.७ प्रतिशत, होटलको ३.२ प्रतिशत र अन्य समूहका कम्पनीहरूको १०.१ प्रतिशत हिस्सा रहेको छ।