चैत ९ गतेदेखि आइपिओ जारी गर्दै सोपान फर्मास्यूटिकल्स


काठमाडौँ । सोपान फर्मास्यूटिकल्स लिमिटेड ले आगामी चैत ९ गतेदेखि आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन ९आईपीओ० प्रक्रिया सुरु गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर बिक्री खुला गर्न लागेको हो।

कम्पनीले जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशत बराबर ४२ लाख ९० हजार कित्ता आईपीओ जारी गर्न अनुमति पाएको छ। यसमध्ये १० प्रतिशत अर्थात ४ लाख २९ हजार कित्ता सेयर श्रम स्वीकृति लिएर विदेशमा काम गरिरहेका नेपालीहरूका लागि छुट्याइएको छ।

त्यस्तै, कुल निष्कासनमध्ये ५ प्रतिशत अर्थात २ लाख १४ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ४ प्रतिशत अर्थात १ लाख ७१ हजार ६०० कित्ता सेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको छ। बाँकी ३४ लाख ७४ हजार ९०० कित्ता सेयर सर्वसाधारणका लागि जारी गरिनेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। उक्त सेयरमा चैत १२ गतेसम्म आवेदन दिन पाइनेछ भने सो अवधिमा पर्याप्त आवेदन नपरेमा म्याद चैत २३ गतेसम्म लम्ब्याइने कम्पनीले जनाएको छ।