काठमाडाैँ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–३ स्थित हैबुङ महादेवस्थान माध्यमिक विद्यालयमा सञ्चालन हुँदै आएको ‘हैबुङ महादेवस्थान स्काउट ट्रुप’को प्रथम दीक्षान्त समारोह उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय समुदायको उल्लेख्य उपस्थिति रहेको थियो।
समारोहकी प्रमुख अतिथि उमा प्रधानले स्काउटिङ शिक्षाले विद्यार्थीहरूमा अनुशासन, नेतृत्व क्षमता र सेवाभाव विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताइन् । उनले नगरपालिकाले स्काउट अभियानलाई प्रोत्साहन गर्ने उद्देश्यले नगरभित्रका माध्यमिक तथा आधारभूत (कक्षा ८ सम्म सञ्चालन हुने) सम्पूर्ण सामुदायिक विद्यालयलाई निःशुल्क स्काउट युनिफर्म वितरण गरेको जानकारी दिइन्। साथै, आगामी दिनमा आफू पदमा नरहे पनि व्यक्तिगत रूपमा स्काउटिङ लगायतका शैक्षिक गतिविधिमा सहयोग निरन्तर रहने विश्वास व्यक्त गरिन्।
कार्यक्रमका विशेष अतिथि नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक विदुर गिरीले स्काउटिङले विद्यार्थीलाई अनुशासित, जिम्मेवार र सक्षम नागरिक बनाउन महत्वपूर्ण योगदान पुर्याउने बताए । उनले मेलम्ची नगरपालिकाले स्काउट अभियानमा दिएको सहयोग प्रशंसनीय रहेको उल्लेख गर्दै उक्त सहयोगको सदुपयोग गर्दै गतिविधिलाई अझ प्रभावकारी रूपमा अघि बढाउनुपर्ने धारणा राखे ।
यसैगरी मेलम्ची नगर स्काउटका प्रमुख आयुक्त सुनिल भण्डारीले स्काउटिङले विद्यार्थीहरूमा नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्व विकास गर्ने भएकाले यसको विस्तार आवश्यक रहेको बताए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामबहादुर लामाले स्काउट अभियानले विद्यार्थीहरूलाई अनुशासित र सामाजिक सेवामा अग्रसर बनाउने भएकाले यसको निरन्तरता र विस्तारमा सबैको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे।
समारोहमा छिमेकी विद्यालयका अतिथिका रूपमा स्काउटर जीवन ढकालको उपस्थिति रहेको थियो भने कार्यक्रम स्काउटर लक्ष्मी रोकायाले सञ्चालन गरेकी थिइन्।
कार्यक्रमका सभापति तथा हैबुङ महादेवस्थान माविका प्रधानाध्यापक राजकुमार लामिछानेले नवदीक्षित स्काउट सदस्यहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै विद्यालयमा स्काउट गतिविधि सञ्चालन हुनुले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा महत्वपूर्ण योगदान पुगेको बताए ।
सहभागी अतिथिहरूलाई मायाको चिनो प्रदान गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरिएको थियो।


प्रतिक्रिया दिनुहोस्