राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो


काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि समानुपातिकतर्फका पार्टीका सांसदहरुको नामावली टुंगो लगाएको छ । 
आइतबार काठमाडौँको धुम्बाराहीस्थित पार्टी कार्यालयमा बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले पार्टीले पाउने ४ जना समानुपातिकतर्फका सांसदहरु टुंगो लगाएको हो ।

प्रतिनिधि सभामा समानुपातिकतर्फको सांसदहरु टुंगो लगाइएको पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले बताए । त्यसैगरी बैठकले मधेस प्रदेशमा पनि रिक्त रहेको प्रदेश सभा सदस्य नियुक्ति गर्नका लागि एक जनाको नाम सिफारिस गरेको छ । 

अध्यक्ष लिङदेनले भने, “यो विषम परिस्थितिमा पनि राष्ट्रिय प्रजातन्त्र पार्टीलाई मतदान गर्ने र एक मात्र प्रत्यक्षतर्फ ज्ञानबहादुर शाहीलाई विजय गराउने सम्पूर्ण मतदाताहरुलाई धन्यवाद दिने निर्णय गरेको छ । र उहाँलाई बधाई दिन दिइएको छ । त्यसै गरेर मधेस प्रदेश सभामा रिक्त रहेको प्रदेश सभा सदस्यमा समानुपातिक सूचिमा प्राथमिकता क्रममा रहेको दोस्रो नामलाई प्रदेश सभा सदस्यामा नियुक्त गर्ने सिफारिस गरिएको छ । अहिले समानुपातिकतर्फको ४ जनालाई प्रतिनिधि सभामा सिफारिस गर्ने निर्णय पनि गरेको छ ।”

समानुपातिकमा खस आर्य पुरूषमा भरत गिरी, मुस्लिम पुरूषमा ताहिर अली, खस आर्य महिला खुस्बु ओली र जनजाती महिलातर्फ सरस्वती लामालाइ सिफारिस गरिएकाे जनाइएकाे छ ।

प्रतिनिधि सभा सदस्यमा प्रत्यक्षतर्फबाट निर्वाचन हुने पार्टीका नेता ज्ञानबहादुर शाहीलाई बधाई दिँदै पार्टीको पक्षमा मतदान गर्नुहुने सबै मतदाताहरुलाई धन्यवाद दिइएको राप्रपाले जनाएको छ ।