चैत १० गतेदेखि आइपिओ जारी गर्दै कालंगा हाइड्रो


काठमाडौँ। कालंगा हाइड्रो लिमिटेडले आगामी चैत १० गतेदेखि आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्काशन गर्ने भएको हो ।

कम्पनीले जारी पूँजीको ३५ प्रतिशत अर्थात् ४९ करोड रुपैयाँ बराबरको ४९ लाख कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको छ। सोमध्ये पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि प्रतिसेयर १०० रुपैयाँ अंकित दरका १४ लाख कित्ता सेयर निष्काशन गर्न लागिएको हो।

स्थानीयका लागि छुट्याइएको कुल शेयरमध्ये ९ लाख १० हजार कित्ता अति प्रभावित क्षेत्र बझाङ, बैतडी र दार्चुलाका तोकिएका वडाहरूका लागि र बाँकी ४ लाख ९० हजार कित्ता ती क्षेत्रका अन्य वडाका बासिन्दाका लागि बाँडफाँट गरिने जनाइएको छ।

त्यस्तै, सर्वसाधारणका लागि छुट्याइएको शेयरको १० प्रतिशत अर्थात् ३ लाख ५० हजार कित्ता सेयर श्रम स्वीकृति प्राप्त गरी विदेशमा रहेका नेपालीहरूका लागि निष्काशन गरिने कम्पनीले जनाएको छ। आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

स्थानीयले चैत २४ गतेसम्म (छिटोमा) र वैदेशिक रोजगारीमा रहेकाहरूले चैत १५ गतेसम्म आवेदन दिन सकिने जनाइएको छ ।