चैत ५ देखि भृकुटीमण्डपमा ‘२७ औं फ्लोरा एक्स्पो’ हुँदै, १ करोड २० लाखको कारोबार हुने अपेक्षा


काठमाडाैँ । फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान) को आयोजनामा ‘२७ औं फ्लोरा एक्स्पो २०८२’ आयोजना हुने भएको छ ।

सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै चैत ५ गतेदेखि ८ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा एक्स्पाे आयोजना हुने जानकारी दिइएकाे हाे । ‘स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धिको लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ यो प्रदर्शनी हुन लागेको हो ।

आयोजककाअनुसार एक्स्पोमा व्यावसायिक स्टल ६५, अफिसियल स्टल ११, प्रतिष्पर्धात्मक स्टल २, फुड स्टल २ लगायत गरी जम्मा ८३ वटा स्टलहरू रहनेछन् ।

मेलामा मौसमी फूल, आलंकारिक बोटबिरुवा, कट फ्लावर, सुनाखरी, कृषि औजार, मलखाद, तथा आधुनिक पुष्प खेती प्रविधिका सामग्रीहरू प्रदर्शन तथा विक्रीका लागि राखिनेछन् । चार दिनसम्म चल्ने यस मेलालाई करिब ६० हजार दर्शकले अवलोकन गर्ने र एक करोड २० लाख रुपैयाँभन्दा बढीको व्यावसायिक कारोबार हुने आयोजकको अपेक्षा गरेकाे छ ।

मेलाको मुख्य आकर्षणका रूपमा विभिन्न विधामा पुष्प व्यवसायीहरूबिच प्रतिष्पर्धा गराई उत्कृष्टलाई पुरस्कृत गरिने कार्यक्रम रहेको फ्यानका वरिष्ठ उपाध्यक्ष तथा मेला संयोजक राबहादुर तामाङले बताए । उनकाअनुसार मेला स्थलमा बोटबिरुवामा लाग्ने रोग तथा कीराहरूको निदान र स्वास्थ्य परीक्षणका लागि विशेषज्ञसहितको ‘प्लान्ट क्लिनिक’ समेत सञ्चालन गरिनेछ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत चैत ६ गते शुक्रवार मेला स्थलमै रक्तदान कार्यक्रम पनि आयोजना गरिने फ्यानका उपाध्यक्ष तथा मेला संयोजक रामबहादुर तामाङले जानकारी दिए । 

पुष्प व्यवसायको कारोबार घट्यो, आयातमा पनि भारी कमी

हाल ५२ जिल्लाको २ सय ७० हेक्टर क्षेत्रफलमा फैलिएको यो व्यवसायमा ८ अर्ब ८३ करोडभन्दा बढी लगानी रहेको छ भने ५३ हजार ५ सयभन्दा बढीले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाएका छन् ।

यद्यपि, देशको कमजोर आर्थिक अवस्था र नीतिगत समस्याका कारण यस वर्ष (आ.व. २०८१/८२) पुष्प व्यवसायको वार्षिक कारोबार घटेर ३ अर्ब ३७ करोडमा सीमित हुने अनुमान गरिएको छ । जुन अघिल्लो वर्ष ३ अर्ब ६८ करोड थियो । समग्र कारोबार घटे पनि विदेशी फूलको आयातमा भने भारी कमी आएको छ ।

अघिल्लो वर्ष २७ करोड ७९ लाखको पुष्प तथा पुष्पजन्य वस्तु आयात भएकोमा यस वर्ष ५४.२७ प्रतिशतले घटेर १२ करोड ७० लाखमा झरेको छ । त्यस्तै, निर्याततर्फ भने १०९.१६ प्रतिशतले वृद्धि भई २ करोड १३ लाख रुपैयाँ पुगेको भन्सार विभागको तथ्याङ्कलाई उद्धृत गर्दै फ्यानले जनाएको छ ।