काठमाडाैँ । पश्चिम एशियामा सुरक्षा चुनौती थपिएको भएपनि त्यहाँ रहेका नेपालका १० वटै कुटनीतिक नियोग (दुतावास) हरूले आफ्नो नियमित सेवालाई निर्वाध रूपमा सञ्चालन गरिरहेको सरकारले जनाएको छ ।
परराष्ट्र मन्त्रालयले दूतावासहरू बन्द नभएको र नेपालीहरूले पाउने सेवा सुविधामा कुनै कटौती नभएको स्पष्ट पारेको हो । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीकाअनुसार दुतावासहरूले राहदानी (पासपोर्ट) नवीकरणलगायतका सम्पूर्ण कन्सुलर सेवाहरू निरन्तर प्रदान गरिरहेका छन् ।
सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै अनलाइनबाट दिन सकिने सेवाहरूलाई पूर्ण रूपमा अनलाइन प्रणालीमा लगिएको छ । उनले केन्द्रबाट पनि दुतावासहरूलाई आवश्यक पर्ने सबै प्रकारका समन्वय र सहयोग भइरहेको बताए।
यसैबिच, सुरक्षा संवेदनशीलतालाई हेरेर सरकारले हाल पश्चिम एशियाका केही देशहरूका लागि स्थगित गरेको श्रम स्वीकृतिको विषयमा पनि पुनर्विचार हुने भएको छ ।
हाल नयाँ जाने श्रमिक र बिदामा आएर पुनः फर्कने (रि–इन्ट्री) दुवैका लागि श्रम स्वीकृति रोकिएको छ । तर यस विषयमा सरोकारवाला निकायहरूसँग गम्भीर छलफल भइरहेको र छिट्टै कुनै सकारात्मक टुंगो लाग्नेमा मन्त्रालय आशावादी रहेको प्रवक्ता पौडेलले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्