जनताले भरोसा गरेका छन्, यसलाई जोगाउन जिम्मेवार बनौँः उपसभापति वाग्ले


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीलाई जनताले गरेको ऐतिहासिक विश्वासलाई जोगाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताएका छन् । 

रास्वपाले आयोजना गरेको सांसदहरुको अभिमुखिकरण कार्यक्रममा उनले जनताले अत्याधिक भरोसा गरेर अत्यन्तै बलियो वैधता दिएको बताए । रास्वपाप्रति जनतामा अत्याधिक आशा रहेकोले त्यसलाई कार्यान्वयनमार्फत न्याय गर्नुपर्ने उनको भनाइ छ ।

उनले जनतामा विकास निर्माण र सुशासनको ठूलो हुटहुटी रहेको बताए । त्यसलाई पूरा गर्न रास्वपालाई स्पष्ट म्याण्डेड दिएर पठाएको उनको भनाइ छ । अब जनताको आकांक्षा र भरोसाबाट भाग्ने छुट पार्टिलाई नभएको उनले बताए । उनले २०१५ सालको पहिलो लोकतान्त्रिक निर्वाचनसँग तुलना गर्दा अहिलेको उपलब्धि ठूलो भएको उल्लेख गरे।

त्यसबेला विपी कोईराला नेतृत्वको नेपाली काँग्रेसले स्पष्ट दुईतिहाई बहुमत पाएपनि लोकप्रिय मत ३८ प्रतिशत मात्रै पाएको उनकाे भनाइ छ । हालैको निर्वाचनमा रास्वपाले करिव दुईतिहाइ सिटसहित ४८ प्रतिशत लोकप्रिय मत प्राप्त गरेको भन्दै उनले यसलाई अभूतपूर्व जनादेश भएको बताए ।

उपसभापति वाग्लेले जनादेशलाई जोगाउन विगतका सरकारहरूको अस्थिरताबाट पाठ सिक्नुपर्ने आवश्यकता औंल्याए । २०४८ सालमा नेपाली काँग्रेसको बहुमत सरकार आन्तरिक विवादका कारण पूरा कार्यकाल टिक्न नसकेको उनको भनाइ छ ।

२०६४ सालमा माओवादी नेतृत्वको सरकार छोटो समयमै विघटन भएको र २०७४ सालमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्पष्ट बहुमत पनि दीर्घकालीन रूपमा टिक्न नसकेको उनले स्मरण गरे । उनले यस्तो बलियो जनादेश नेपालमा अभूतपूर्व रहेको उल्लेख गर्दै यसलाई जोगाउन विगतका कमजोरीबाट सिक्दै स्थायित्व र सुशासनतर्फ अघि बढ्नुपर्नेमा जोड दिए । 

उनले नवनिर्वाचित सांसदहरुलाई जिम्मेवारका साथ प्रश्तुत हुन पनि सुझाव दिए । उनले पारदर्शी जीवनशैली अपनाउन, जथाभावी अभिव्यक्ति नदिन, जनताको गुनासालाई ध्यान दिन आग्रह गरे । कानुन तथा नेपालको संविधानलाई गहिरोसँग अध्ययन गर्न पनि सांसदहरुलाई उनले सुझाव दिए ।