चौरजहारीका नगरप्रमुख वादीसहित दुई जनाविरुद्ध घुस प्रकरणमा मुद्दा दायर


काठमाडाैँ । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका नगरप्रमुख पुष्प वादीसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो।

आयोगका अनुसार नगरप्रमुख वादीसँगै घुस दिने असिस्टेन्ट सबइन्जिनियर मोहन शाहलाई पनि प्रतिवादी बनाइएको छ। शाह चौरजहारी नगरपालिकामा करार सेवामा कार्यरत थिए।

अनुसन्धानबाट आर्थिक वर्ष २०८१/८२ मा आफ्नो करार अवधि थप गराउन शाहले नगरप्रमुख वादीलाई एक लाख रुपैयाँ घुस दिएको खुलेको आयोगले जनाएको छ। त्यस्तै, आगामी आर्थिक वर्ष २०८२/८३ का लागि पनि करार नवीकरण गर्न नगरप्रमुखले पुनः घुस मागेको आरोप छ। घुस नदिएपछि आफ्नो करार अवधि नथपिएको भन्दै शाहले आयोगमा उजुरी दिएका थिए।

उक्त उजुरीका आधारमा अनुसन्धान अघि बढाएको आयोगले घुस लेनदेन भएको पुष्टि भएको दाबी गरेको छ। आयोगका अनुसार सेवा करार अवधि निरन्तर गराउने नाममा नगरप्रमुखलाई मोलाहिजा गरी रकम दिनु–लिनु भ्रष्टाचार निवारण ऐनअनुसार कसुर ठहरिएको छ।

यस प्रकरणमा दुवै जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरी कानुनी प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ।