उद्योगी व्यवसायीबिच बृहत् छलफल, निजी क्षेत्रको समस्या तथा आर्थिक सुधारबारे सुझाव पेश


काठमाडौँ । नयाँ सरकार गठनको तयारी र नेपाल उद्योग वाणिज्य महासङ्घको चुनाव नजिकिदै गर्दा उद्योगि व्यवसायीबिच ‘परिवर्तित जनादेशको परिवेशमा अर्थतन्त्रको दिशा निर्देश : निजी क्षेत्रको भूमिका र अपेक्षा’ विषयमा अन्तरक्र्रिया कार्यक्रम भएको छ ।

स्थल यातायात तथा पारवहन समिति नेपाल उद्योग वाणिज्य महासङ्घ कार्यकारिणी सदस्य एव सभापति शिवप्रसाद घिमिरे समूहको आयोजनामा होटल एभरेस्ट, नयाँ बानेश्वर काठमाडौँमा बुधबार भएको छलफलमा अर्थतन्त्रको वर्तमान अवस्था, निजी क्षेत्रले भोगिरहेका समस्या तथा आर्थिक सुधारका सम्भावित उपायबारे बृहत छलफल भएको छ ।

कार्यक्रममा उद्योगि व्यवसायीहरूले नयाँ बन्दै गरेको नयाँ सरकार र निजी क्षेत्र बिचको सहकार्यमा जोड दिएका छन् ।

कार्यक्रममा आयोजक रहेका व्यवसायीलाई शिवप्रसाद घिमिरेले परिवर्तित जनादेशको परिवेशमा नयाँ अवसर र सम्भावनासँगै मध्यपूर्वमा उत्पन्न युद्धका कारण उत्पन्न भएको आर्थिक चुनौतीबारे आफ्ना धारणा व्यक्त राखेका थिए ।

उनले नेपालको आर्थिक विकासमा निजी क्षेत्रको योगदान अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै रोजगारी सिर्जना, उत्पादन वृद्धि र राजस्व संकलनमा निजी क्षेत्रको अग्रणी भूमिका रहेको बताए ।

तर, नीतिगत अस्थिरता, प्रक्रियागत जटिलता, लगानीमैत्री वातावरणको अभाव तथा वित्तीय पहुँचमा कठिनाइ जस्ता समस्याले निजी क्षेत्रलाई अपेक्षित रूपमा अघि बढ्न अवरोध पुर्‍याइरहेको उनको भनाइ थियो ।

उनले यस्ता समस्याको दीर्घकालीन समाधानका लागि स्पष्ट र स्थिर आर्थिक नीति आवश्यक रहेकोमा जोड दिए ।

घिमिरेले नयाँ सरकारसँग निजी क्षेत्रले उच्च अपेक्षा राखेको उल्लेख गर्दै लगानी सुरक्षा, कर प्रणालीमा सुधार, उद्योग–व्यवसाय सञ्चालनमा सहजीकरण तथा पूर्वाधार विकासमा प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा अर्थशास्त्री डा. विश्वास गौचनले ‘मध्यपूर्वको युद्ध र दुई तिहाइ बहुमतको सरकारलाई सुझाव’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै नेपालको आर्थिक संरचना, ऋण व्यवस्थापन तथा दीर्घकालीन आर्थिक सुधारका आवश्यक कदमहरूबारे विस्तृत कार्यप्रत्र प्रस्तुत गरे ।

उनले अन्तर्राष्ट्रिय परिस्थितिबाट उत्पन्न जोखिमले नेपालको अर्थतन्त्रमा पार्न सक्ने प्रभावबारे प्रकाश पार्दै त्यसअनुसार नीतिगत तयारी गर्नुपर्ने आवश्यकता औंल्याए ।

गौचनले कार्यपत्रमार्फत निजी क्षेत्रको सुदृढीकरण, लगानीमैत्री वातावरण निर्माण, उत्पादनशील क्षेत्रको प्रवद्र्धन तथा आर्थिक पुनरुत्थानका लागि आवश्यक स्पष्ट रोडम्याप समेत प्रस्ताव गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएको प्रमुख विषय राजनीतिक स्थिरता रहेको उल्लेख गर्दै हालै सम्पन्न निर्वाचनले त्यसतर्फ सकारात्मक संकेत दिएको बताए ।

नेपालमा लगानी सुरक्षाको सुनिश्चितता आवश्यक रहेकोमा जोड दिँदै उनले निजी क्षेत्र निरन्तर त्यसको पक्षमा आवाज उठाउँदै आएको स्पष्ट पारे ।

अध्यक्ष ढकालले सरकारद्वारा निजी क्षेत्रलाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै अर्थतन्त्रको मेरुदण्डकै रूपमा निजी क्षेत्रलाई सबैले स्वीकार गरिसकेको धारणा व्यक्त गरे ।

सरकार गठनको तयारीमा रहेको दलले प्रतिबद्धतामा पनि निजी क्षेत्रलाई प्राथमिकता दिइएको भन्दै यसले आगामी दिनमा थप आशा जगाएको बताए ।

अध्यक्ष ढकालले निजी क्षेत्रले संयमित, जिम्मेवार र एकताबद्ध ढंगले अगाडि बढ्न सके अर्थतन्त्रमा सकारात्मक परिणाम देखिने विश्वास व्यक्त गरे ।

उद्योग वाणिज्य महासंघले प्रस्तुत गरेका सुझावहरूलाई नीतिगत सुधारमार्फत कार्यान्वयन गर्ने प्रतिबद्धता समेत सरकार बनाउने दलबाट आएको उल्लेख गर्दै उनले सबै निजी क्षेत्र एकजुट भएमा विद्यमान समस्या समाधान गर्न सहज हुने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व वरिष्ठ उपाध्यक्ष भाष्कर राज राजकर्णिकारले उद्योग वाणिज्य महासंघको वस्तुगततर्फ हुन गइरहेको निर्वाचनको सन्दर्भमा वर्तमान आर्थिक जटिलताबिच भड्किलो खर्च गर्ने प्रवृत्तिबाट बाहिर निस्केर वास्तविक मुद्दामा केन्द्रित बहस हुनु पर्ने बताए ।

उनले पक्षहरू रमझम र अनावश्यक गतिविधिमा अल्मलिएको उल्लेख गर्दै यस्ता प्रवृत्तिले निजी क्षेत्रका मूल एजेण्डालाई ओझेलमा पारिरहेको टिप्पणी गरे ।

राजकर्णिकारले लामो समयदेखि निजी क्षेत्रले अपेक्षा गरेको राजनीतिक स्थिरता जनताले स्पष्ट बहुमतमार्फत सुनिश्चित गरेको उल्लेख गर्दै अब आर्थिक एजेण्डामा केन्द्रित भएर अघि बढ्नुपर्ने धारणा राखे ।

उनले नेपालको संविधानमा समाजवाद उन्मुख अर्थतन्त्रको अवधारणा उल्लेख गरिएको भए पनि त्यसको व्यवहारिक कार्यान्वयनबारे स्पष्टता आवश्यक रहेको बताए ।

अमूर्त अवधारणाभन्दा खुला र प्रतिस्पर्धात्मक अर्थतन्त्रको अभ्यासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै उनले निजी क्षेत्रमैत्री नीतिहरू अवलम्बन गर्न सरकारसँग आग्रह गरेका थिए ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा भावी अध्यक्ष अन्जन श्रेष्ठले कार्यक्रममा प्रस्तुत सबै सुझावप्रति आफ्नो समर्थन रहेको उल्लेख गरे ।

उनले सहभागीहरूबाट प्राप्त सुझावहरू संकलन गरिएको जानकारी दिँदै ती सुझावहरू आगामी नीति निर्माण र सरकारसँगको संवादका लागि महत्वपूर्ण आधार बन्ने बताए ।

श्रेष्ठले बहुमतसहित गठन हुन लागेको सरकारप्रति आशा व्यक्त गर्दै निजी क्षेत्रलाई प्रोत्साहन गरिएमा पूर्ण सहयोग गर्न तयार रहेको उल्लेख गरे ।

आगामी दिनमा निजी क्षेत्रमाथि थप जिम्मेवारी आउने भएकाले एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिँदै खुला बजार अर्थतन्त्रको सुदृढीकरण र आफ्ना कमजोरीहरूमा सुधार गर्दै जिम्मेवार ढंगले अघि बढ्नुपर्ने धारणा राखे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, उपाध्यक्ष भाष्कर राज राजकणिकार लगायत महासंघका वर्तमान तथा पूर्व पदाधिकारीहरू, विभिन्न वस्तुगत तथा जिल्ला र नगर उद्योग वाणिज्य संघका प्रतिनिधिहरू तथा अन्य सरोकारवाला निकायका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रमले परिवर्तित राजनीतिक जनादेशको सन्दर्भमा देशको अर्थतन्त्रको भावी दिशा, निजी क्षेत्रको भूमिका तथा अपेक्षाबारे महत्वपूर्ण छलफलको वातावरण सिर्जना गरेको आयोजक घिमिरेले बताए ।