भाेलिदेखि सुरू हुने ‘२७ औँ फ्लोरा एक्स्पो’काे तयारी पूरा, पुष्प व्यवसायमा नयाँ गति थप्ने अपेक्षा


काठमाडाैँ। फ्लोरिकल्चर एसाेसिएसन नेपाल (फ्यान) को आयोजनामा ‘२७ औँ फ्लोरा एक्स्पो २०८२’ काे तयारी पूरा भएको छ। भाेलिदेखि ८ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन हुनेछ ।

‘स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धिको लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ आयोजना हुने यस एक्स्पोमा ६५ व्यावसायिक स्टल, ११ अफिसियल स्टल, २ प्रतिस्पर्धात्मक स्टल र २ फुड स्टल गरी जम्मा ८३ स्टल रहेकाे आयोजकले जनाएका छन्। मेलामा मौसमी फूल, आलंकारिक बोटबिरुवा, कट फ्लावर, सुनाखरी, कृषि औजार, मलखाद र आधुनिक पुष्प खेती प्रविधिका सामग्री प्रदर्शन तथा बिक्रीका लागि राखिएका छन् ।

फ्यानका वरिष्ठ उपाध्यक्ष तथा मेला संयोजक रामबहादुर तामाङका अनुसार मेलाको मुख्य आकर्षण विभिन्न विधामा पुष्प व्यवसायीबिच प्रतियोगिता हुनेछ र उत्कृष्टलाई पुरस्कृत गरिनेछ। साथै, बोटबिरुवामा लाग्ने रोग तथा कीराहरूको निदानका लागि विशेषज्ञसहितको ‘प्लान्ट क्लिनिक’ सञ्चालन गरिनेछ। सामाजिक उत्तरदायित्व अन्तर्गत चैत ६ गते रक्तदान कार्यक्रम पनि आयोजना हुने तामाङले जानकारी दिए।

फ्यानका अनुसार हाल ५२ जिल्लामा फैलिएको पुष्प व्यवसायमा ८ अर्ब ८३ करोडभन्दा बढी लगानी भएको छ र ५३ हजारभन्दा बढीले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाएका छन्। यद्यपि, कमजोर आर्थिक अवस्था र नीतिगत चुनौतीका कारण आ.व. २०८१/८२ मा पुष्प व्यवसायको वार्षिक कारोबार ३ अर्ब ३७ करोडमा सीमित हुने अनुमान छ। अघिल्लो वर्ष यो रकम ३ अर्ब ६८ करोड थियो।

समग्र कारोबार घटे पनि विदेशी फूलको आयात ५४.२७ प्रतिशतले घटेर १२ करोड ७० लाख रुपैयाँमा झरेको छ भने निर्यात १०९.१६ प्रतिशतले वृद्धि भई २ करोड १३ लाख रुपैयाँ पुगेको छ। आयोजकले मेलामा करिब ६० हजार दर्शकको उपस्थिति र १ करोड २० लाख रुपैयाँभन्दा बढीको व्यावसायिक कारोबार हुने अपेक्षा व्यक्त गरेका छन्।