काठमाडौँ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)का अध्यक्ष राजेश भक्त श्रेष्ठले हालै आएको हावाहुरीका कारण पुष्प व्यवसायीहरूले ठूलो क्षति व्यहोर्नुपरेको भन्दै बिमा व्यवस्था प्रभावकारी रूपमा लागू गर्न सरकारसँग माग गरेका छन्।
काठमाडौँको भृकुटीमण्डपमा आजदेखि सुरू भएको ‘२७औँ फ्लोरा एक्स्पो–२०८२’ उद्घाटन कार्यक्रममा बोल्दै उनले प्राकृतिक विपत्तिबाट हुने क्षतिलाई न्यूनीकरण गर्न बिमा अनिवार्य भएको बताएका हुन्। हावाहुरीकै कारण केही व्यवसायी यसपटकको प्रदर्शनीमा सहभागी हुन नसकेको पनि उनले जानकारी दिए।
उनले पुष्प क्षेत्रको दिगो विकासका लागि बिमा, नीतिगत सुधार तथा आधुनिक प्रविधिको विस्तार अपरिहार्य रहेको धारणा राखे। चार दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा करिब ६० हजारभन्दा बढी अवलोकनकर्ता सहभागी हुने र एक करोड २० लाख रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको उनले बताए।
नेपालमा वि.सं. २०११ सालदेखि सुरू भएको पुष्प व्यवसाय हाल ५२ जिल्लामा विस्तार भइसकेको छ। करिब २७० हेक्टर क्षेत्रफलमा फैलिएको यस क्षेत्रमा एक हजार २३५ भन्दा बढी व्यवसाय संलग्न छन् भने करिब ८ अर्ब ८३ करोड रुपैयाँभन्दा बढी लगानी रहेको छ। यस क्षेत्रबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ५३ हजारभन्दा बढीले रोजगारी पाएकाे उनले जानकारी दिए ।
यद्यपि वार्षिक १० देखि १५ प्रतिशतसम्म माग वृद्धि भइरहे पनि स्वदेशी उत्पादनले पूर्ण रूपमा धान्न नसकेको अध्यक्ष श्रेष्ठले बताए। उनले पुष्प प्रवर्धन नीति–२०६९ को पुनरावलोकन, अवैध आयात नियन्त्रण, पुष्प बालीलाई प्राथमिकतामा राख्ने तथा आधुनिक प्रविधि विस्तारमा सरकारको ध्यान जानुपर्ने आवश्यकता औँल्याए।
ग्रीनहाउस प्रविधि, थोपा तथा मिस्ट सिँचाइ प्रणाली, फर्टिगेसन र नियन्त्रित खेती प्रणालीको विस्तारले उत्पादन वृद्धि र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा टेवा पुग्ने उनको भनाइ छ। साथै, पुष्प क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन एफडीआई सम्मेलन आयोजना गर्नसमेत उनले सरकारसँग आग्रह गरे।
‘स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नारासहित आयोजित उक्त एक्स्पोमा व्यावसायिक, प्रतिस्पर्धात्मक, फुड तथा ल्यान्डस्केपसहित ८३ वटा स्टल राखिएका छन्।
प्रदर्शनीमा मौसमी फूल, आलंकारिक बिरुवा, कट फ्लावर, ड्राइ फ्लावर, सुनाखरी, कम्पोस्ट, कृषि औजार तथा आधुनिक पुष्प खेती प्रविधिको प्रदर्शन तथा बिक्री भइरहेको छ। मेलामा सहभागी व्यवसायीहरूबिच विभिन्न फूल तथा बिरुवाको उत्पादनमा नौ विधामा प्रतिस्पर्धा पनि आयोजना गरिएको छ।


प्रतिक्रिया दिनुहोस्