पुष्प व्यवसायलाई प्रविधिमैत्री र प्रतिस्पर्धी बनाउन प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री पौडेल


काठमाडौँ । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेलले पुष्प व्यवसायलाई प्रविधिमैत्री र प्रतिस्पर्धी बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।

आजदेखि भृकुटीमण्डपमा सुरु भएको २७औँ फ्लोरा एक्स्पो–२०८२ को उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पौडेलले स्मार्ट पुष्प व्यवसायका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा बजेट विनियोजन गरिसकेको जानकारी दिए।

उनका अनुसार उक्त कार्यक्रमका लागि आवश्यक कार्यविधि तयार भइसकेको भए पनि हाल अर्थ मन्त्रालयमा स्वीकृतिका लागि पठाइएको छ र केही समयदेखि प्रक्रिया अघि बढ्न बाँकी रहेको छ।

उनले निर्वाचन लगायतका कारण केही सरकारी प्रक्रिया ढिलाइ भएको उल्लेख गर्दै छिट्टै कार्यान्वयनमा आउने विश्वास व्यक्त गरे। मन्त्री पौडेलले पुष्प व्यवसाय आफैँमा प्रतिस्पर्धी क्षेत्र भएकाले यसलाई साना किसानदेखि व्यवसायी तहसम्म प्रवर्धन गर्नुपर्ने आवश्यकता औँल्याए।

उनका अनुसार नेपाली पुष्प व्यवसायले अब आन्तरिक मात्र नभइ विदेशी बजारसँग समेत प्रतिस्पर्धा गर्नुपर्ने भएकाले प्रविधि प्रयोग विस्तार, उत्पादन सुधार तथा व्यवसायिक दक्षता अभिवृद्धिमा जोड दिनु आवश्यक छ। उनले भने, “पुष्प व्यवसायलाई अझ प्रविधियुक्त बनाउँदै उत्पादन र बजार विस्तारमा केन्द्रित हुनुपर्छ।”

मन्त्री पौडेलले नेपाल विविध हावापानी र वनस्पति सम्पदाले भरिपूर्ण देश भएकाले पुष्प व्यवसायको ठूलो सम्भावना रहेको उल्लेख गरे। पुराना जातका फूल तथा बिरुवाको संरक्षणसँगै नयाँ प्रविधि र जातको विकास गर्दै अघि बढ्नुपर्नेमा उनले जोड दिए।

उनले प्रदेश सरकारले कृषि तथा पुष्प व्यवसायको विकासका लागि सरोकारवाला निकायहरूसँग बृहत् छलफल गर्ने तयारी गरेको जानकारी पनि दिए। चैत महिनाको अन्त्य वा वैशाखमा किसान, व्यवसायी र सरोकारवाला सहभागी हुने गरी कृषि क्षेत्रको समग्र विकासका लागि अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने योजना रहेको उनले बताए।

मन्त्री पौडेलले सरकार, निजी क्षेत्र, व्यवसायी र संघ–संस्था सबै मिलेर कृषि तथा पुष्प व्यवसायलाई रोजगारी सिर्जना गर्ने प्रमुख क्षेत्रका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याए।