काठमाडौँ । काठमाडौँ उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश श्रेष्ठले पुष्प व्यवसायलाई आर्थिक समृद्धिको महत्वपूर्ण आधारका रूपमा विकास गर्न राज्य र निजी क्षेत्र दुवैको सहकार्य आवश्यक रहेको बताएका छन् ।
भृकुटीमण्डपमा बिहीबारदेखि सुरू भएको २७औँ फ्लोरा एक्स्पो–२०८२ को उद्घाटन समारोहमा बोल्दै उनले विगत २७ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको यो प्रदर्शनीले पुष्प व्यवसायको प्रवर्धन र उद्योगको विस्तारमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गरे ।
श्रेष्ठले निजी क्षेत्रको सक्रियता, एकता र निरन्तर प्रयासकै कारण पुष्प व्यवसाय आजको अवस्थामा आइपुगेको भन्दै आयोजक तथा व्यवसायीहरूलाई बधाई तथा सफलताको शुभकामना दिए । उनले नेपाल उद्योग वाणिज्य महासंघसँग भएको वस्तुगत परिषदसम्बन्धी सहकार्यलाई पनि सकारात्मक उपलब्धिका रूपमा व्याख्या गरे ।
उनले अन्तर्राष्ट्रिय अनुभव साझा गर्दै मरुभूमि मुलुक संयुक्त यूएईमा समेत फूल व्यवसायलाई अत्याधुनिक प्रविधिमार्फत ठूलो स्तरमा विस्तार गरिएको उदाहरण प्रस्तुत गरे । उनले त्यहाँ एसिया र अफ्रिकाबाट आउने फूलहरूको व्यवस्थापन तथा निर्यात प्रणालीले नेपालजस्ता मुलुकका लागि पनि सम्भावना देखाएको बताए ।
श्रेष्ठले नेपालमा फूल उत्पादन र निर्यातको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै सही नीति, लगानी र सरकारी सहकार्य भएमा यस क्षेत्रले ठूलो आर्थिक योगदान दिन सक्ने धारणा राखे । उनले भन्सार तथा निर्यात प्रक्रियामा सहजीकरण गर्न राज्यलाई आग्रह गर्दै निजी क्षेत्रको आवाज सशक्त हुनुपर्नेमा जोड दिए ।
उनले पुष्प व्यवसायलाई राष्ट्रिय प्रतिष्ठासँग जोडेर हेर्नुपर्ने बताउँदै यसको विकासका लागि सरकार, निजी क्षेत्र र सरोकारवाला सबै एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए ।


प्रतिक्रिया दिनुहोस्