ब्रोकर कम्पनीले आगामी साउनसम्म आइटी अडिट गरिसक्नुपर्ने,कारोबार थप सुरक्षित हुने विश्वास


काठमाडौँ । ब्रोकर कम्पनीले आगामी साउनसम्म आ–आफ्ना सूचना प्रविधि सम्बन्धी प्रणालीको अडिट गरिसक्नुपर्ने भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ‘आइटी अडिट गाइडलाइन्स् २०२६’ कार्यान्वयनमा ल्याएपछि ब्रोकर कम्पनीले अनिवार्यरूपमा आइटी अडिट गर्नुपर्ने भएको हो ।

सेयरबजारमा हुनसक्ने साइबर जोखिमलाई मध्यनजर गर्दै ब्रोकर कम्पनीहरूका लागि आइटी अडिट व्यवस्था अनिवार्य गरेको छ ।

निर्देशिकाअनुसार अब नयाँ सञ्चालनमा आउने ब्रोकर कम्पनीले ६ महिनाभित्र आइटी अडिट गरेर बुझाउनुपर्ने छ ।

हाल सञ्चालनमा रहेका ९२ ब्रोकर कम्पनीले निर्देशिकाअनुसार पहिलोपटकलाई ६ महिनाभित्र र बाँकी २/२ वर्षमा आइटी अडिट गर्नुपर्ने छ ।

नेप्सेले गत २०८२ माघ १२ गतेदेखि निर्देशिका कार्यान्वयनमा ल्याएको थियो । अहिले सञ्चालनमा रहेका ब्रोकर कम्पनीले साउन १२ गतेसम्म आइटी अडिट गरिसक्नुपर्ने छ ।

नेप्सेले ट्रेडिङ सिस्टम, मोबाइल एप र ग्राहक डाटा व्यवस्थापनसम्मका सबै डिजिटल संरचनाको सम्परीक्षण गर्नुपर्ने गरी निर्देशिका कार्यान्वयनमा ल्याएको छ ।

ब्रोकर कम्पनीहरूले प्रयोग गर्ने ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस), ब्याक अफिस सिस्टम, ग्राहक डाटा व्यवस्थापन प्रणाली, नेटवर्क पूर्वाधार, सर्भर, डाटाबेस र स्टोरेज सिस्टमको तोकिएको अवधिमा सम्परीक्षण गरिने छ ।

नेप्सेका सिइओ चुडामणि चापागाईंले भने“यसअघि कानुनी व्यवस्था हुँदाहुँदै पनि पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको यो विषयलाई अब व्यवहारमा उतारिएको छ । अब ब्रोकरहरूले आफ्नो सिस्टम नियमित रूपमा अडिट गर्नुपर्नेछ । जसले गर्दा गल्ती, कमजोरी वा जोखिम समयमै पत्ता लगाउन मद्दत पुग्नेछ ।”

सिइओ चापागाईंले आइटी अडिटको व्यवस्थाले ब्रोकर प्रणाली अझ सुरक्षित र भरपर्दो हुने र लगानीकर्तालाई सीधा फाइदा हुने बताए ।

उनले भने,“ लगानीकर्ताको कारोबार अब थप सुरक्षित हुने छ । यसले पुँजीबजारलाई पारदर्शी, सुरक्षित र विश्वासयोग्य बनाउने छ । हामीले पुँजीबजारमा महत्वपूर्ण सुधारहरू निरन्तर जारी राखेका छौँ ।”

ब्रोकर कम्पनीहरूले अडिट मान्यता प्राप्त आइटी विज्ञ वा अडिट फर्ममार्फत सम्परीक्षण गराई प्रतिवेदन नेप्सेसमक्ष बुझाउनुपर्ने छ ।

लगानीकर्ताको कारोबार अब थप सुरक्षित हुने छ । यसले पुँजीबजारलाई पारदर्शी, सुरक्षित र विश्वासयोग्य बनाउने छ । हामीले पुँजीबजारमा महत्वपूर्ण सुधारहरू निरन्तर जारी राखेका छौँ –चुडामणि चापागाईं,सिइओ,नेप्से

निर्देशिकाको बुँदा नम्बर ६ को ‘सि’ मा नयाँ ब्रोकर कम्पनीले सञ्चालनमा आएको ६ महिनाभित्र आइटी अडिट गरेर बुझाउनुपर्ने व्यवस्था छ भने बुँदा नम्बर ६ को ‘डि’ मा सञ्चालनमा रहेका ब्रोकर कम्पनीले निर्देशिका लागु भएको ६ महिनामा र त्यसपछि २/२ वर्षमा अडिट गर्नुपर्ने छ ।

नेप्सेले ब्रोकर कम्पनीहरूलाई पठाएको पत्रमा भनिएको छ,“कारोबार सदस्यले आफूले प्रयोगमा ल्याएको सूचना प्रविधि सम्बन्धी प्रणाली नेप्सेले निर्धारण गरेको मापदण्ड बमोजिम भए वा नभएको सम्बन्धमा क्म्तीमा दुई वर्षमा सम्परीक्षण गराई सो को प्रतिवेदन नेप्से तथा बोर्डमा पेश गर्नुपर्ने छ ।”